Nic Ad Nic Ad
Nic Ad Nic Ad

नवीन्द्रराजको शालिक अनावरण गर्दै राष्ट्रपतिले भने– राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ 

सोमबार, चैत १३, २०७९

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् ।

आज काठमाडौँमा पूर्वमन्त्री स्व.नवीन्द्रराज जोशीको शालिक अनावरण गर्दै उनले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका हुन् ।

उनले जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख–दुःख बुझेर उनीहरूकै  लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुका सुख–दुःख बुझ्ने व्यक्तित्वको रूपमा आफूले स्व जोशीलाई चिनेको उनले बताए ।

उनले स्व. जोशीको व्यक्तित्व राष्ट्रिय रूपमा बनाएको उचाई र छवि वर्तमान नेपाली समाजका लागि प्रेरणादायी हुने उल्लेख गरे ।

राष्ट्रपति पौडेलले योग्यता, आचरणशील र इमान्दारीतामा बराबर संगम रहेका बिरलै मानिसमध्ये स्व. जोशी रहेको पनि बताए ।

उनले भने, ‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै  लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्वता र समर्पणबाट  अभिप्रेरित हुनुपर्छ । जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख–दुःख बुझ्ने नवीन्द्र यही दर्शनबाट प्रभावित थिए ।’

राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रुपमा स्व. जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रूपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पर्याएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने बताए ।
 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्