बैंक साहुका दुःख : देखिँदा अर्ब नाफा, हातमा पर्छ १३ रुपैयाँभन्दा कम
काठमाडौँ– नविल बैंकले गत पुस मसान्तसम्ममा ३ अर्ब ४२ करोड रुपैयाँ नाफा गरेको छ । यस्तै, अर्काे वाणिज्य बैंक एनआइसी एसियाले पनि ३ अर्ब ३ अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ ।
चालु आर्थिक वर्षको ६ महिना अर्थात गत पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले ३३ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा गरेका छन् । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले ३४ अर्ब २१ करोड रुपैयाँ खुद नाफा गरेका थिए । चालु आर्थिक वर्षको ६ महिनामा एउटा बैंकले औसतमा १ अर्ब ५३ करोड रुपैयाँ नाफा गरेको तथ्यांकले देखाएको छ ।
बजारमा आर्थिक मन्दी छ । तरलता अभाव भन्दै बैंकहरुले उद्यम व्यवसाय गर्न ऋण दिएका छैनन् । व्याजदर उच्च अंकमा पुगेको छ भन्ने जस्ता ‘न्यारेटिभ’ दिमागमा राखेर हेर्दा बैंकहरुको नाफा उच्च देखिन्छ । तर, बैंकबाट हुने प्रतिफल ज्यादै कम हुन थालेको भन्दै लगानीकर्ताहरु बैंकमा गरेको लगानी फिर्ता लिन थालेका छन् ।
यसका केही उदाहरण यही चैत महिनाको सार्वजनिक सुचनाले पनि दिएको छ । जस्तो कि–
सानिमा बैंकका संस्थापकले ५ लाख १० हजार कित्ता संस्थापक सेयर विक्री गर्न चाहेका छन् । बैंकले चैत १० गते सार्वजनिक सुचना प्रकाशित गरि यसको जानकारी दिएको हो । सेयर मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । दोस्रो बजारमा सानिमा बैंकको सेयर प्रतिकित्ता २३८ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
चैत २ गते प्रभु बैंकका केही संस्थापकले आफूसँग भएकोमध्ये ५ लाख ७ हजार ९३७ कित्ता सेयर विक्री गर्ने भएका छन् । सो कम्पनीको सेयर मूल्य १२५ रुपैयाँदेखि १५० रुपैयाँ तोकिएको छ । दोस्रो बजारमा प्रभुको सेयर प्रतिकित्ता १७३ रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, कुमारी र एनएमबी बैंकका संस्थापक पनि सेयर विक्रीमा राखेर बसिरहेका छन् ।
यी उदाहरणले एकातिर बैंकले नाफा अर्बभन्दा बढी कमाएका देखिन्छ भने अर्काेतिर बैंकका संस्थापकहरु सेयर विक्री गरेर बैंकको लगानी झिक्न चाहिरहेका देखिन्छ । पछिल्लो समय त बैंकको व्याज बढी भयो भनेर आन्दोलन नै भएका छन् । बैंकको व्याज बढी भयो भन्नुको खास तात्पर्य हो– बैंकको नाफा बढी भयो ।
त्यसो भए बैंकको नाफा बढी भएकै हो त ? बैंकले कति नाफा गरिरहेका छन् भनेर अर्बको अंक हेर्दा देखिदैन । बैंकले गरेको खास नाफा कति प्रतिशत छ भनेर हेर्न आरओइ (रिटर्न अन इक्वीटी) हेर्नुपर्ने हुन्छ ।
गत आर्थिक वर्षमा सेयरधनीलाई सबैभन्दा धेरै नाफा गरिदिएको एनआइसी एसिया बैंकले हो । तर, सोही बैंकको आरओइ २०.४३ प्रतिशत थियो । अर्थात एनआईसी एसिया बैंकको सय रुपैयाँ मूल्यको एक कित्ता सेयर हुनेले गत आर्थिक वर्षमा २० रुपैयाँ ४३ पैसा नाफा कमाए । एनआइसी एसिया बैंकको सेयर दोस्रो बजारबाट प्रतिकित्ता ५ सय रुपैयाँमा किन्नुभएको छ भने त तपाईंले पाएको खास आम्दानी (नेट एल्ड) जम्मा साढे ४ प्रतिशत पनि पुग्दैन ।
गत आर्थिक वर्षमा एनआइसी एसिया बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको थियो । अर्थात एनआइसी एसियाले साढे ४ अर्बभन्दा बढी नाफा कमायो भनेर बजार हल्ला हुँदा सो बैंकका सेयरधनीले पाएकाे प्रतिकित्ता २० रुपैयाँ ४३ पैसा मात्रै हो । यद्यपि, नियामकीय प्रावधानको कारण एनआइसी एसिया बैंकले गत आर्थिक वर्षमा पनि सेयरधनीलाई लाभांश वितरण गर्न भने पाएको छैन ।
गत आर्थिक वर्षमा बैंकहरुले ६६ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा गरेका थिए । सेयरधनीले सबैभन्दा कम प्रतिफल पाएको कृषि विकास बैंकबाट हो । सो बैंकका सेयरधनीले प्रतिकित्ता ८ रुपैयाँ ६६ पैसा प्रतिफल पाएका छन् । पोहोर कृषि विकास बैंकको सेयर प्रतिकित्ता ३ सय रुपैयाँमा किन्नुभएको थियो भने तपाईंले पाएको प्रतिफल (नेट एल्ड) जम्मा २.६६ प्रतिशत मात्रै हो । जवकि कृषि विकास बैंकले गत आर्थिक वर्षमा २ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
पूर्व बैंकर भुवन दाहाल बैंक र बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरु विरुद्ध चौतर्फी आक्रमण भइरहेको बताउँछन् । नियामक निकाय नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयका अधिकारीहरु पनि बैंकको नाफा र सिइओहरुको सेवा सुविधाप्रति नकारात्मक रहेको अनुभूति दाहालले गरेका छन् ।
बैंकको नाफाप्रति उठेका अनावश्यक प्रश्न र सेवा सुविधाप्रतिको अनावश्यक चासोले राम्रा मान्छे बैंकको लगानीकर्ता र कर्मचारी हुन नपरे हुन्थ्यो भन्ने मनस्थितिमा पुगेको दाहालको अनुभव छ ।
‘गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ६६ अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको देखियो । जबकि आरओइ हेर्ने हो भने औसतमा १३ प्रतिशतको हाराहारीमा देखिन्छ । यो नाफा पनि बढी भयो भन्ने न्यारेटिभ एकातिर छ भने अर्काेतिर नाफा कम भएर लगानीकर्ता निरुत्साही भएका मैले महसुस गरेको छु,’ नेपाल बैंकर्स एसोसिएनको पूर्व अध्यक्ष समेत रहेका पूर्व बैंकर दाहाल भन्छन् ।
बैंकको व्याज बढी भयो, बैंकले बढी नाफा गरे, बैंकले ऋण दिएनन् भन्ने जस्ता आरोप लगाएर अर्थतन्त्रको रक्तसंचार मानिने बैंकिङ क्षेत्रलाई बद्नाम गर्ने मात्रै होइन, आक्रमण गर्ने क्रम पनि बढेको छ । बैंकिङ क्षेत्रमाथि बढेको आक्रमणलाई नीति निर्माता र सरकारले गम्भीरतापूर्वक लिएको देखिदैन ।
अहिले निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघ चुनावी चटारोमा छ । महासंघले आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्षदेखि अन्य पदमा पदाधिकारी निर्वाचित गर्दैछ । महासंघको पदाधिकारीका आकाक्षीहरु भोट माग्न जिल्ला जिल्ला पुगिरहेका छन् ।
यसपाली बैंकको व्याज बढी भयो, बैंक नाफाखोर भए, अर्थतन्त्र गम्भीर समस्यामा छ भन्ने जस्ता न्यारेटिभ निर्माण गर्न महासंघका पदाधिकारीका आकाक्षीको भूमिका पनि बढी देखिएको छ । उनीहरुले उद्यमी व्यवसायीको भोट पाउनका लागि यस्तो तर्कलाई उछालेका छन् ।
गत पुस १० गते नयाँ समीकरण बनाएर सत्तामा गएको संसदको दोस्रो ठूलो दल नेकपा एमाले फागुन १५ गतेदेखि प्रतिपक्षमा पुगेको छ । एमाले नेतृत्वमा बनेका प्रदेश सरकारहरु अल्पमतमा पर्ने र नयाँ सरकार बन्ने क्रम बढेको छ । यो राजनीतिक घटनालाई एमालेले आर्थिक विषयसँग जोडेर सरकारमाथि दबाब बढाइरहेको छ । यसकारण पनि अर्थतन्त्रको बारेमा बढी नकारात्मक टिप्पणीहरु सार्वजनिक भइरहेका छन् ।
हो, अहिले आर्थिक अवस्था त्यति सहज छैन । उद्यम व्यवसायको लागि प्रतिकुल समय छ । तर, अहिले हल्ला गरिए जस्तो कठिन अवस्था पनि छैन । र, कठिन अवस्था छ भने बैंकको लागि पनि कठिन नै छ । त्यसैले बैंकलाई गाली गरेर लाभ लिन खोज्ने जुन प्रबृत्ति बढेको छ, यसले आगामी दिनमा साच्चिकै कठिन अवस्था निम्त्याउने जोखिम पनि उत्तिकै छ ।