सन्दीपविरुद्धको मुद्दा : फैसलाको पेसी स्थगित
काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार आरोपसम्बन्धी मुद्दाको फैसलाको पेसी स्थगित भएको छ ।
सन्दीपका वकिलका तर्फबाट पेसी स्थगित भएको हो । यसअघि सन्दीपलाई थुनामै राख्ने आदेश दिएका माधवप्रसाद घिमिरेको इजलासमा मुद्दाको पेसी परेको थियो । सन्दीपका वकिलले निवेदन दिएर पेसी स्थगित गराएको काठमाडौँ जिल्ला अदालत स्रोतले जनाएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान सन्दीपमाथि गत भदौमा नाबालिग भनिएकी एक किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् ।
विदेशमा रहेका सन्दीप करिब एक महिनापछि नेपाल आएका थिए । लगत्तै उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
त्यसपछि काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाएको थियो । तर पछि पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।
सन्दीपले पुनरावेदन गरेपछि सर्वोच्च अदालतले खेल्नलाई विदेश जान पाउनेलगायत केही खुकुलो आदेश दिएको थियो ।