मंगलबार बस्दै सत्ता गठबन्धनको बैठक
काठमाडौँ– सत्ता गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ । सत्ता गठनबन्धनमा रहेका तीन शीर्ष दलबीच मंगलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा मंगलबार अपराह्न गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।
बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । सत्तागठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ ।
मन्त्रिपरिषद् विस्तार आजसम्म गरिने भनिए पनि दलहरुबीच सहमति हुनसकेको छैन । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् ।