युरोकप छनोटमा नेदरल्यान्ड्सले पहिलो जित निकाल्यो
काठमाडौँ– सुन् २०२४ मा जर्मनीमा हुने युरोकप फुटबल छनोटमा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा जिब्राल्टरलाई ३–० ले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित दर्ता गरेको हो ।
खेलको २३ औँ मिनेटमा नै मेम्फिस डिपाएले गोल गर्दै नेदरल्यान्ड्सले अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५० औँ मिनेटमा नाथर एकेले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए ।
लगत्तै जिब्राल्टर १० खेलाडीमा सीमित भयो । माट्स वेइफेरमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले लियाम वाल्करलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । त्यससँगे तुलनात्मक कमजोर पछि जिब्राल्टरको खेलमा फर्कने सम्भावना पनि टाढियो ।
यता, नेदरल्यान्ड्ले भने अर्को गोल थप्दै सहज जित निकाल्यो । खेलको ८२ औँ मिनेटमा एकेले नै गोल गरेका हुन् ।
पहिलो जितसँगै सन् १९८८ को युरोकप विजेता नेदरल्यान्ड्स समूह ‘बी’मा दुई खेलबाट ३ अंक बटुल्दै तेस्रो स्थानमा रहेको छ । जिब्राल्टर दुई खेलबाटै अंकविहीन हुँदै पुछारमा छ । एक खेल खेलेको ग्रिस ३ अंक जोडेर दोस्रो स्थानमा छ भने आयरल्यान्डले पनि अंकको खाता खोल्न सकेको छैन । दुई खेलमा शतप्रतिशत जित निकालेको फ्रान्स ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
नेदरल्यान्ड्स पहिलो खेलमा फ्रान्ससँग नै पराजित भएको थियो ।