Nic Ad Nic Ad
Nic Ad Nic Ad

विदेशबाट आयात हुँदा बिकेन नेपाली मह

मंगलबार, चैत १४, २०७९

भरतपुर –स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो माग गरेका हुन् ।
मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि मह बिक्री हुन नसकेको बताए । उनले बिक्री नभएर नेपालमा अझै १ हजार ५ सय मेट्रिक टन मह मौज्दात रहेको दाबी गरे । भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या आएको उनको भनाइ छ । 
नेपालमा वार्षिक महको खपत ८ हजार मेट्रिक टन छ । नेपालबाट ८ मेट्रिक टन मह निर्यातसमेत भएको छ । नेपालमा वार्षिक ३० करोड ३४ लाख रुपैयाँ बराबरको मह आयात हुँदा १६ करोड ८१ लाख रुपैयाँको मह निर्यात भएको सरकारी तथ्यांकमा उल्लेख छ ।
नेपाल मौरीपालन महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले स्वदेशी महले बजार नपाउँदा किसान समस्यामा परेको बताए । उनले सरकारले नीतिगत पहल नगर्दा नेपाली किसानको मह उत्पादन हुन नसकेको गुनासो गरे । उनका अनुसार पछिल्लो ४ महिनामा २०० मेट्रिक टन मह आयात भएको छ ।
मौरीविज्ञ डा.शिवप्रसाद रिजालले मौरी र महको विषयमा जनचेतना जगाउन आवश्यक रहेको धारणा राखे । मौरी र पर्यावरण विषयमा कार्यपत्र पेश गर्दै उनले मौरीले पारिस्थितिक प्रणालीलाई कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्