मेयर कप महिला टी–२० : ललितपुरलाई पराजित गर्दै एपीएफ फाइनलमा
काठमाडौं –सशस्त्र प्रहरी बलको एपीएफ क्लब लिग चरणका खेलमा अपराजित रहँदै ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
एपीएफ क्लबले लिग चरणको अन्तिम खेलमा मंगलबार आयोजक ललितपुर मेयर्सलाई ३७ रनले पराजित गरेको हो । खेलमा एपीएफका लागि राजमती ऐरीको उत्कृष्ट खेल प्रदर्शन गरिन् । उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफ क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर ११० रन बनाएको थियो । १११ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्सले २० ओभरमा आठ विकेट गुमाउँदै ७३ रनमात्र बनाउन सक्यो ।
एपीएफ क्लब लिग चरणका चारवटै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ । उसले लिग चरणको एक खेल अगावै उपाधि भिडन्त पक्का गरेको थियो । आयोजक ललितपुर मेयर्स लिग चरणका चारवटै खेलमा जितबिहीन रह्यो ।