सङ्घीय निजामती सेवा ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी
काठमाडौँ– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले उक्त ऐनको प्रक्रिया अघि बढेको बताए ।
‘धेरै वर्षदेखि सङ्घीय निजामती ऐन आउन सकेको थिएन, मैले पदभार ग्रहणको दिन नै सङ्घीय निजामती ऐन ल्याउँछु भनेको थिए, अहिले सहमतिका लागि कानुन र अर्थमा गइसकेको छ’, मन्त्री मोदीले भने ।
मन्त्री मोदीले संसद्को जारी अधिवेशनमा नै ऐन टेबुल हुनेसमेत विश्वास व्यक्त गरे । उनले भने, ‘सङ्घीय निजामती ऐन अगाडि बढिसक्यो, संसद्को यही अधिवेशनमा ऐन टेबुल गर्ने मेरो तयारी छ ।’
मन्त्री मोदीले ऐनमा सबैका भावना र सुझावलाई समेट्ने उद्देश्यले सरोकारवाला पक्षसँग छलफल गरेकोसमेत बताए । उनले सुशासन कायम गर्ने विषय नै आफ्नो मुख्य प्राथमिकताको विषय भएकोसमेत उल्लेख गरे । निमित्तमार्फत स्थानीय तहको कामकाज गर्ने प्रवृत्तिलाई अन्त्य गरेर आफूले सुशासनको सुरुआत गरेको उनको भनाइ थियो ।
मन्त्री मोदीले जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवाग्राहीले प्रश्न उठाउन नपर्ने गरी सेवा प्रवाह दिनसमेत कर्मचारीलाई निर्देशन दिए ।