वैशाखभित्र अपर सान्जेनबाट बिजुली उत्पादन हुने, भदौभित्र तल्लो सान्जेन आउने
काठमाडौं– आउँदो २०८० वैशाखभित्र १४.८ मेगावाट क्षमताको अपर (माथिल्लो) सान्जेन जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणअन्र्तगतको सहायक कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाले वैशाखभित्र व्यवसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने भएको हो ।
आगामी बैशाखभित्र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत्् आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने कार्यतालिका रहेको सहायक कम्पनी सान्जेन जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलकुमार ढुंगेलले सिएन नेपाललाई जानकारी दिए ।
‘अपर सान्जेन आउँदो वैैशाखभित्र निर्माण सम्पन्न गरेर विद्युत् उत्पादन नै सुरु गर्दैछौं,’ उनले भने, ‘अहिले संरचनाको क्रमशः परिक्षण (टेस्टिङ)को काम गर्दैछौं ।’ निर्माण सम्पन्न भएका संरचनाको जाँच र परिक्षण गरेर वैशाखभित्र १४.८ मेगावाटको बिजुली राष्ट्रिय प्रणालीमा थप्ने लक्ष्य रहेको ढुंगेलले जानकारी दिए ।
माथिल्लो सान्जेनको परीक्षणसँगै विद्युत् उत्पादन सुरु गरेपछि करिब ४ महिनाभित्र ४२.५ मेगावाट क्षमताको तल्लो सान्जेन जलविद्युत् आयोजनाको परीक्षण थालिने उनले बताए । अर्थात, २०८० भदौभित्र तल्लो सान्जेन पनि सम्पन्न भइ विद्युत् उत्पादन हुने उनको भनाइ छ । हालसम्म माथिल्लो सान्जेनको ९७ प्रतिशत र तल्लो सान्जेन जलविद्युत् आयोजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । तल्लो सान्जेनमा पनि संरचनागत परिक्षण र निर्माणको अन्तिम चरणमा पुगेको ढुंगेलले बताए ।
माथिल्लो सान्जेनकै क्यासकेट आयोजना हो, ४२.५ मेगावाट क्षमताको तल्लो सान्जेन । ‘तल्लो सान्जेनको संरचना निर्माणमा करिब ३ प्रतिशत काम बाँकी छ । मेसिन धमाधम जडान गर्ने सुरु भइरहेको छ,’ उनले बताए ।
माथिल्लो सान्जेन जलविद्यूत् आयोजना निर्माणको ठेक्का नेपाली ठेकेदार कम्पनीले ‘इसिआई बज्रगुरु निर्माण कम्पनी’ ले पाएको छ । सन् २०१३ सालमा निर्माण सुरु भएको माथिल्लो सान्जेन जलविद्युत् आयोजना ४ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तर, मुलुकका विभिन्न कालखण्ड पार गर्दै आयोजना निर्माण अघि बढाउँदा दशक बित्यो ।
पटक–पटक म्याद थप गर्दै गर्दा आयोजना निर्माण पर धकेलिँदै गयो । माथिल्लो सान्जेनले गत २०७६ मंसिर र तल्लो सान्जेनले २०६९ भदौमा विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाएका थिए ।
माथिल्लो सान्जेन जलविद्युत् आयोजना निर्माणका लागि २ अर्ब २१ करोड ८० लाख लागत लाग्ने अनुमान गरिएको थियो । तर, भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायत कारणले आयोजनाको लागत पनि बढेर गएको आयोजनाले जनाएको छ । यति नै लागत बढ्ने यकिन नभए पनि निर्माणको ढिलाईले केही लागत बढ्ने सिइओ ढुंगेलको भनाइ छ ।
यता, तल्लो सान्जेन निर्माणका लागि कुल ५ अर्ब २ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । यद्यपि, उक्त आयोजनाको पनि लागत उत्तिकै बढ्नेछ । दुवै आयोजनामा कर्मचारी सञ्चय कोषको ३ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।
रसुवामा निर्माणधीन तल्लो सान्जेनको विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट सुरू भएको थियो । कुल ३ हजार ६३० मिटर हेडरेस सुरुङ १ हजार ५१ मिटर उचाइको सर्जट्यांक, ४७८ मिटर पेनस्टक सुरूङ तथा विद्युत्गृह निर्माण सम्पन्न यसअघि नै भइसकेको छ ।
चिलिमे खोलाको पानीलाई सदुपयोग गर्दै तिलोचे बगरमा बाँधिएको बाँधबाट ल्याइएको एउटै पानीले कूल ५७ मेगावाट विद्युत् उत्पादन हुनेछ । सिम्बू तथा चिलिमे टारसमेतका दुई ठाउँमा छुट्टाछुट्टै विद्युत्गृह पनि निर्माण भइसकेका छन् ।
माथिल्लो सान्जेन निर्माण गर्न कम्पनीको चुक्तापुँजी ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ । सान्जेनमा चिलिमे जलविद्युत् कम्पनीको ३९.३६ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १०.३६ प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, आयोजना प्रभावित स्थानीयवासीको १० प्रतिशत, सञ्चय कोषका सञ्चयकर्ताको १९.५ प्रतिशत, संस्थापक सेयरधनी तथा ऋणदाता संस्था कर्मचारीको ४.५ प्रतिशत र रसुवाका जिल्ला समन्वय समिति र गाउँपालिकहरुको १.२८ प्रतिशत सेयर रहेको छ ।
सरकारले माथिल्लो र तल्लो सान्जेन जलविद्युत् आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समेत समेटेर अघि बढाएको छ । दुवै आयोजनामा जनताको सेयर लगानी रहने कम्पनीले जनाएको छ ।