Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई दशकपछि घैलाघारी तालको खोजी 

बुधबार, चैत १५, २०७९

चितवन– विगत दुई दशकअघि राप्ती नदीमा आएको बाढीका कारण पुरिएको घौलाघारी तालको खोजी सुरु गरिएको छ । बाढीका कारण पुरिएर गेग्रेनमा परिणत बनेको तालको भरतपुर महानगरपालिका–२३ ले खोजी र संरक्षणकार्य सुरु गरेको हो ।

विसं २०५९ मा आएको बाढीका कारण पश्चिम चितवनको पर्यटकीय क्षेत्रका रूपमा रहेको यो ताल पुरिएको थियो । ताल पुरिएसँगै स्थानीय र सरोकारवालाको यसतर्फ ध्यान जानसकेको थिएन । अहिले तालको पुनःनिर्माणका लागि वडा कार्यालयले गुरुयोजना निर्माणको काम सुरु गरेको वडाध्यक्ष दीपक दबाडीले बताए । परापूर्वकालदेखि धार्मिक आस्थाका रूपमा रहेको ताल बाढीले पुरेसँगै संरक्षणको पर्खाइमा रहेको थियो ।

सो ताल पुनःनिर्माणका लागि चालु आर्थिक वर्षमा रु ५५ लाख बजेट विनियोजन गरिएको उनले बताए । तीन बिघा क्षेत्रफलमा फैलिएको सो तालको निर्माणका लागि गुरुयोजनासँगै पुनःसंरचनाको समेत काम सुरु गरिएको उनले उल्लेख गरे । विस्तृत अध्ययन प्रतिवेदन चैत महिनाभित्र आउने गरी काम अघि बढाइएको बताउँदै दबाडीले अहिले तालको क्षेत्रफलअनुसार नक्साङ्कनको काम सुरु गरिएको बताए ।

बाढीले पुरेसँगै तालको खोजी नभएकाले यसलाई व्यवस्थित गर्न कठिन हुने भए पनि वडाले यसको संरक्षणलाई आफ्नो गौरवको आयोजनका रूपमा राखेर काम अघि बढाएको छ । घैला आकारमा रहेको सो तालको बीचमा मन्दिर रहेको छ । तालमा स्नान गरेर मन्दिरमा पूजा गर्दा चाहेको कुरा पूरा हुने विश्वास रहेको स्थानीय बुद्धिराम विश्वकर्माले बताए । यस तालको संरक्षणसँगै स्थानीयको जीविकोपार्जनका लागि सहयोगी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । धार्मिक पर्यटक भित्र्याउन यस तालले सहयोग पुग्ने उनको विश्वास छ ।

वडाले यस तालको संरक्षणसहित स्थानीयको अपनत्व झल्कने खालका संरचना निर्माण गर्ने योजनामा रहेको वडाध्यक्ष दबाडीले जानकारी दिए । ताल क्षेत्रमा थारू र बोटे समुदायको बाहुल्यता रहेको छ । ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लैजाने योजना रहेको उहाँले बताए । तालको  खोजीसँगै सो क्षेत्रमा तालको बीचमा मन्दिर निर्माण, पार्क, पिकनिकस्थल, माछा मार्नेस्थल, विश्रामस्थलजस्ता संरचना निर्माण गरिने छ ।
 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ११:४१
प्रतिक्रिया दिनुहोस्