प्रदर्शनअघि नै ‘जारी’ नाफामा
काठमाडौं –अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘जारी’ रिलिजअघि नै बक्स अफिसमा हिट भएको छ । यो फिल्मले रिलिजअघि नै लगानी उठाएको छ । फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन पनि तय भएको छ ।
यो फिल्म अमेरिका, अस्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा प्रदर्शन हुने पक्का भएको छ ।
निर्माता रामबाबु गुरुङकाअनुसार अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान र युरोपका सबै देशमा अप्रिल पहिलो सातामा फिल्म रिलिज हुनेछ । क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज हुनेछ ।
निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरू दयाहाङ राई, विजय बराल र मिरुना मगर अप्रिल २२ मा लन्डनमा हुने प्रिमियरमा सहभागी हुनेछन् ।
अन्तर्राष्ट्रिय अधिकार बिक्रीबापत फिल्मले डेढ करोडभन्दा बढी नेट कलेक्सन गरेको निर्माता गुरुङले बताए । ‘जारी’ले प्रदर्शनअगावै निर्मातालाई नाफामा लगेको छ ।
पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमा निर्माण भएको फिल्म उपेन्द्र सुब्बाले लेखेका हुन् भने निर्देशन पनि उनैले गरेका हुन् ।
बाँसुरी फिल्म्स् ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्म नेपालमा आगामी वैशाख १ गतेदेखि रिलिज हुँदैछ ।