मिटरव्याजी सरकारी कर्मचारीबाट पीडित बैठाको बयान
मेरो नाम कासिम बैठा हो । मेरो बुवाको नाम इस्लाम बैठा । घर महोत्तरीको पिपरा बजारमा छ ।
सन् १९९७ मा पहिलो पटक कतार गएको थिएँ । प्रत्येक २ वा ३ वर्षमा एक पटक नेपाल आएर फेरि कतार नै जाने गरेँ । कतारमा म करिब २० वर्ष बसेँ ।
पहिलो पटक रेडिमेड गार्मेन्टमा काम गर्न गएको थिएँ । तलब मासिक ५ सय रियाल थियो । खान बस्न कम्पनीले दिन्थ्यो । सन् २००१ देखि नियम परिवर्तन भयो । हामीले कमाएको पैसाबाट सालको १ हजार रियाल त्यहाँको सरकारलाई तिर्नुपर्ने भयो ।
सन् २००१ मा अमेरिकको विल्डिङमा विस्फोट (ट्वीन टावरमा आतंकवादी हमला) भएको थियो । हामीले काम गर्ने गार्मेन्टमा अमेरिकी कम्पनीको ज्याकेटको अर्डर थियो । त्यो आक्रमणपछि अर्डर क्यान्सिल भयो । र, हाम्रो कम्पनी पनि बन्द भयो । त्यो कम्पनीमा ४ सय मान्छेले काम गर्थे । त्यसमध्ये करिब साढे ३ सय जनालाई कम्पनीले घर फिर्ता गरिदियो । ती नयाँ मान्छे थिए । हामी पुरानामा पर्यौं । हामीलाई भने अर्काे कम्पनीमा काम खोजेमा काम गर्न पाउने व्यवस्था मिलाइदिन्छु भनेर कम्पनीले भन्यो ।
त्यसपछि मैले ढलान गर्ने कम्पनीमा काम पाएँ । सिकेँ, काम गरेँ । ६ महिनापछि सावल (पडाडि बकेट नभएको डोजर) चलाउने काम सिकायो । त्यो चलाउन थालेपछि पैसा अलि बढ्यो । मेरो तनखा (तलब) २ हजार जतिमा पुग्यो ।
त्यो बेला रेट (विनिमय दर) २२–२४ रुपैयाँ थियो । म जाने बेलामा भने रेट १६ रुपैयाँ मात्रै थियो । कतारको १ हजारको नेपालमा १६ हजार मात्रै हुन्थ्यो । सावल चलाउन थालेपछि मासिक ३ हजारसम्म कमाएँ ।
मेरो एउटा बैनी थिईँ । उसको विहे गरेँ । भाइको विहे गरेँ । घर बनाएँ । धानखेती हुने जग्गा पनि किनेँ ।
त्यही बीचमा बुवाले २÷३ जनासँग केही पैसा सापटी लिनुभएको रहेछ । महाजन शेखरकुमार मिश्रले बुवालाई पहिला ४० हजार र पछि २० हजार गरी जम्मा ६० हजार रुपैयाँ दिएका रहेछन् । विजयनारायण पाण्डेले २५ हजार र जिवछ यादव यादवसँग १ लाख सापटी लिएको थियो । यी तीन जना नै महाजन हुन् ।
मेरो एक जना भिनाजु पनि हुनुहुन्छ । उहाँ पनि मलेशिया जानु भएको थियो । मलेशिया गएपछि उहाँमा मानसिक रोग देखियो । नेपाल फर्केपछि उहाँको उपचारको लागि पटना (भारत) लगियो । भिनाजुको उपचारका लागि बुवाले पैसा खोजेर दिनु भएको रहेछ । त्यो कुरा हामीलाई भन्नुभएको थिएन । पाण्डे र मिश्रसँग बुवाले यही कारण सापटी लिनुभएको रहेछ ।
बुवालाई पैसा दिने महाजनलाई थाहा थियो– योसँग करोडौंका सम्पत्ती छ । उसले बुवालाई पैसा दिदा कपाली तमसुक गराएको थियो । त्यसको म्याद १० वर्षसम्मको लागि हुन्छ, महाजनलाई पनि यो कुरा थाहा छ । त्यसैकारण उसले पर्खेर बसेको थियो ।
मेरो भाइमा पनि मानसिक समस्या देखियो । यस्ता पारिवारिक कारणले मलाई पनि तनाव धेरै भयो । त्यही बीचमा म पनि विरामी परेँ । म विरामी परेको समयमा यी तीन जना नै महाजन मिलेर मुद्दा गरिदियो ।
यसरी मुद्दा हालेर एक जनाले मेरो साढे ५ कठ्ठा जग्गा खाइदियो । अर्काे ५ कठ्ठा जग्गाको डाँक गराएको थियो । त्यसको दर्ता बदरको लागि मैले पनि मुद्दा हालेँ । अहिले त्यो मुद्दा चल्दैछ ।
यसरी परियो पासोमा
बुवाले २/३ जनासँग केही पैसा सापटी लिनुभएको रहेछ । शेखरकुमार मिश्रले पहिला ४० हजार र पछि २० हजार गरी जम्मा ६० हजार रुपैयाँ दिएका थिएँ । विजयनारायण पाण्डेले २५ हजार दिएको हो । र, जिवछ यादवसँग १ लाख सापटी लिएको थियो । यी तीन जना नै महाजन हुन् ।
यसमध्ये यादवसँग लिएको १ लाख रुपैयाँ सापटीको कुरो मलाई पनि थाहा थियो । बाँकी पाण्डे र मिश्रले पैसा दिएको मलाई थाहा थिएन ।
यादवले दिएको १ लाख रुपैयाँ तिर्नको लागि ३ वर्ष अलि पुगेको थिएन । ३६ प्रतिशतको दरले व्याज हिसाव गर्दा अलि बढी देखियो । त्यसैले मैले अब म कमाउन सक्दिनँ । केही पैसा छुट दिनु । म २ लाख रुपैयाँ तिर्छु भनेँ । यादवले एकको दुई दिने भए हुन्छ भन्यो । मैले १ लाख रुपैयाँ सापटी लिएकोमा २ लाख रुपैयाँ तिरेँ ।
उसको छोरोको नाम सन्तोष कुमार यादव हो । उसले बहाना बनायो । भन्यो– कागज आमासँग छ । आमा अहिले बाहिर जानुभएको छ । आमा आएपछि कागज खोजेर कि तपाईंलाई दिन्छु, कि म आफै च्यातिदिन्छु । तर, कागज मलाई फिर्ता दिएनन् र च्यातेनन् पनि ।
महाजनसँग सापटी लिदा कागज गर्ने तरिका फरक छ । जस्तो कि जिवछ यादवसँग मैले १ लाख रुपैयाँ सापटी लिएको हो । एक लाख सापटी लिदा ३ लाखको कागज बनाउँछन् । साढे २ वर्षमा मैले पैसा तिर्न नसकेपछि ३६ प्रतिशत व्याजको दरले २ लाख ६५ हजार रुपैयाँ भयो भनियो । अनि त्यो २ लाख ६५ हजारको तीन गुणाको दरले ७ लाख ९५ हजारको कागज बनाए । एक लाख लिदा ३ लाखको कागज बनाउँछ । २ लाख लिदा ६ लाखको कागज गर्छ ।
मैले यादवसँग एक लाख लिएको हो । र, उसलाई मैले २ लाख रुपैयाँ दिइसकेको छु । अब अहिले उसँग ७ लाख ९५ हजारको कागज छ । मसँग उसले १३ लाख रुपैयाँ मागिरेहको छ । व्याज जोडेर १३ लाख भयो भन्छ । र, १३ लाख नदिए हाम्रो घडेरी लान्छु भनिरहेको छ ।
हामीले यादवसँग २०६५ सालमा पैसा लिएको थियो र २०७२ सालमा मैले २ लाख फिर्ता दिएको हो ।
मैले पैसा दिदा कागज फिर्ता लिनुपर्छ भनेको पनि हो । बुवाले भन्नुभयो– मैले यहाँ खेत जोतेको ३ पुस्ता भइसक्यो, गाउँका मान्छेले विश्वासघात गर्दैनन् । पैसा तिरेपछि त्यो कागज मसँग भएपनि वा महाजनसँग भए पनि के फरक पर्छ र ! उहाँले विश्वास गर्नुभयो । ७२ वर्षको मान्छेलाई केही भन्न पनि भएन । तर, मलाई भने फाँसीमा चढायो । सम्पत्ती त गयो, गयो, बुढो भएको बाउँलाई गाली गरेर पाप पनि किन कमाउनु ?
विदेशमा गएर कमाएको सबै सकियो । अहिले म पनि विरामी छु । ४ वटा साना साना बच्चा छन्, तिनीहरुलाई लिएर कहाँ जाने ?
मिश्रसँग पहिला ४० हजार र पछि २० हजार गरी ६० हजार लिएको रहेछ । ६० हजार लिएको भएपनि उसले ६ लाखको कागज गरेको रहेछ । बुवाले एक्लै गएर उसलाई ५ लाख तिरेर आउनु भएछ । उसले पनि बहाना गरेर बुवालाई कागज दिएन ।
उसँग ६ लाखको कागज भएपछि साढे २ वर्षपछि अर्काे कागज बनायो । त्यसरी कागज बनाउँदा ६ लाखको तीन गुणाको दरले १८ लाखको बनायो । लिएको जम्मा ६० हजार भएपनि उसले बुवासँग १८ लाखको कागज बनाएछ ।
मुल धन जति हो, त्यो रकम तमसुकको अन्तिममा लेखिन्छ । बीचमा तीन गुना बढाएर लेखिन्छ । व्याज भने १० प्रतिशत भनेर लेखिएको हुन्छ ।
जस्तो कि मैले महाजनसँग १ लाख रुपैयाँ लिएँ भने तमसुकमा माथि ३ लाख रुपैयाँ लिएको र वार्षिक व्याजदर १० प्रतिशत हुने भनेर लेखिएको हुन्छ । त्यसपछि केही ठाउँ खाली राखेर मुनि लेखिएको हुन्छ– ऋण लिएको रकम जम्मा १ लाख हो र व्याज ३६ प्रतिशत हुन्छ । त्यो कागज महाजनसँग हुन्छ । उसले मुद्दा गर्ने बेलामा तल लेखिएको मुलधन र ३६ प्रतिशत व्याजदर भन्ने व्यहोरा च्यातेर फालिदिन्छ । माथिको ३ लाखमा १० प्रतिशतका दरले व्याज भन्ने कागज पेश गरेर मुद्दा लड्छ ।
विजय नारायण पाण्डेसँग बुवाले २५ हजार रुपैयाँ सापटी लिनुभएछ । २५ हजार लिदा ७५ हजारको कागज बनाएर सही गरायो । ३ साल वितेपछि कागज चेन्ज गरायो । त्यो बेलामा ४ लाख ७९ हजारको कागज बनाएर बुवालाई सही गराएछ । त्यतिको कागज बनाएपछि उसले मुद्दा दर्ता गरायो ।
मुद्दा चल्दा चल्दै उसले अर्काे कागज गरायो । किनभने ३ वर्षमा सापटी फिर्ता दिन नसकेपछि व्याजलाई पनि सावा बनाएर कागज गरिन्छ । त्यसरी गर्दा ८ लाख २४ हजारको कागज भयो । त्यो ८ लाख २४ हजारमा मिश्रले मेरो साढे ५ कठ्ठा जग्गा डाँक गरायो ।
त्यो साढे ५ कठ्ठा जग्गाको किमत (मूल्य) १ करोड रुपैयाँभन्दा बढी छ । त्यो साढे ५ कठ्ठामध्ये साढे ३ कठ्ठामा आम (आँप) को बगैचा छ । त्यो जग्गा घडेरीको रुपमा कठ्ठाको २५ लाखको दरमा विक्री हुन्छ । यो जग्गा महोत्तरीको पिपरा बजारको हो । पाण्डेले डाँक गराएको यो साढे ५ कठ्ठा जग्गा मेरो बुवालाई ६० हजार ऋण लिने मिश्रले डाँकबाट लिएको देखाइयो । २ कठ्ठा जग्गा भने २५ लाखमा बेच्यो । त्यसरी मेरो जग्गा बेच्दा मलाई २ पैसा दिएन ।
यादवसँग पैसा लिएको २०७१ साल मंसिरमा हो । पाण्डेसँग लिएको २०६५ सालमा लिएको हो । र, मिश्रसँग २०७२ सालमा लिएको हो । उनीहरुले जग्गा डाँक गराएको छ । त्यसको बदरको लागि मुद्दा चलिरहेको छ । जिल्लामा मैले मुद्दा हारेँ । अहिले पुनरावेदन अदालतमा मुद्दा चलिरहेको छ । त्यहाँ मुद्दा जितेँ भने सबै जमिन फिर्ता पाउँछु । मुद्दा हारेँ भने फेरि सर्वाेच्च आउनु पर्छ ।
यादव, मिश्र र पाण्डेको पेशा
मलाई सापटी दिने जिवछ यादव पोखरी खनेर माछा पाल्ने व्यवसाय गर्छन् । ३ वटा जति पोखरी छन् । आम (आँप)को बगैचा पनि छ । ३/४ विगाहा खेतीबारी छ । भैसी पनि छन् । पहिला मुर्गी (कुखुरा) फार्म पनि थियो ।
विजयनारायण पाण्डे पहिला गाविसमा थिए । उनी त्यहाँ औषधी वितरण गर्थे । पहिलाको गाविस अहिले गाउँपालिका भएको छ । गाउँपालिकामा उनको सरकारी जागिर छ । भगाहामा उनी अहिले पनि सरकारी जागिर गरिरहेका छन् ।
सरकारले गाउँमा गरिबलाई वितरण गर्न दिएको औषधी पाण्डेले विक्री गर्छन् । त्यसरी विक्री गरेको औषधीको पैसा नै उनले गाउँमा मिटरव्याजमा लगानी गर्ने हो । भन्छन्– गरिबको खुनमा तागत छ, यो हाम्रो व्यापार हो । उसले जग्गा जमिन जोड्ने यसरी हो ।
अर्का महाजन शेखरकुमार मिश्रको कुनै पेशा व्यवसाय छैन । उनी गाउँमा झगडा मिलाउने गर्छन् । उनका छोराछोरी काठमाडौंमै पढ्छन् । गरिबसँग पैसा ठगेर आफ्ना छोराछोरी पढाएका छन् । खेतीबारी छ । पैसा ठगेर रोड छेउमा जग्गा किन्छन् । उनको काम जग्गा किन्ने, राख्ने छ ।
काठमाडौं जाने योजना
सप्तरी जिल्लामा संजय पासवानले पहिला यो मिटरव्याज सम्बन्धी विषय उठाए । त्यसपछि सप्तरीका मिटरव्याज पीडितले सिडियो सावलाई निवेदन दिए । सप्तरीमा त्यस्तो भएपछि हामीले पनि आफ्नो जिल्लाको सिडियो कार्यालयमा निवेदन दियौं । सिडियो सावले भदौ ५ गतेसम्मको म्याद दिनुभयो । हामीले निवेदन दिएपनि मिटरव्याजीलाई बोलाएर सिडिओ अफिसले कुनै छलफल नै गरेन । २ दिन ४ दिन भन्दै ६ महिना गुजार्यो ।
सिडिओ सावले नै यसो भनेको होइन । सिडिओ अर्कै कोठामा बसेको हुन्छ । हाम्रो फाइल हेर्न एउटा हवल्दार र असइ राखेको हुन्छ । हामीले दिएको निवेदनको फाइल ती दुई जनाले नै हेरेका हुन्छन् ।
अन्तिममा उनीहरुले भने– हामीहरुमाथि निषेधाज्ञा हालिदिएपछि हामीलाई मुस्किल हुन्छ, हाम्रो जागिर जान्छ । बरु तिमीहरु सिधै गएर सरकारसँग माग । उताबाट कानुन पास गराएर आउनु । अनि हामीहरुको पावर हुन्छ । पावर भएपछि हामीहरु उनीहरु (मिटरव्याजी) लाई समात्छौं । सोधपुछ गर्छाैं, छानविन गर्छाैं । नत्र यहाँबाट केही हुनेवाला छैन । हामीहरु केही गर्न सक्दैनौं । अदालतले फैसला गरेर दिएको छ भने हामीले के गर्ने ? उनीहरुले यस्तो जवाफ दिए ।
अब यसरी भएन । हाम्रो उठिबास भइसक्यो । हाम्रो गुहार कसैले सुनेन । सबैको शरणमा गयौं तर कसैले शरण दिएन । अब सरकारलाई सुनाउनु पर्यो । गएर भन्नु पर्यो हाम्रा कुरा । अनि बर्दिबासबाट जुलुस सुरु भयो ।
यसको संयोजन गर्ने ४/५ जना छन् । उहाँहरुमध्ये केही पीडित पनि हुनुहुन्छ । गाउँमा अझै धेरै पीडित छन् । सबैजना आउन सकेका छैनन् । सक्नेहरु मात्रै आएका हुन् । खाने, बस्ने पैसाको व्यवस्था हामी आफैले गरेको हो । बाटोमा कसैले चिया खुवायो, कसैले चामल दियो, कसैले खान दियो । बर्दिबासबाट सिन्धुली हुँदै काठमाडौं आउँदा उकालो बढी पर्ने भएकोले बरु लामो भएपनि हेटौंडाको बाटो जाउँ भनेर संयोजन गर्ने दाइहरुले भन्नुभयो ।
हाम्रा समस्या सबैले थाहा पाउन्, देखुन् भन्नको लागि पनि हामी लामो बाटो हिडेरै आएका हौं । हेटौंडामा सिडियो सावले हामीलाई रोकेर ‘म बसको व्यवस्था गरिदिन्छु, बसमा जानु’ भन्नुभएको पनि थियो । हामीले मानेनौं, हिडेरै काठमाडौँ आइपुग्यौं । तर, बर्दिवासबाट हिड्ने बेलामा त काठमाडौं पुग्न सकिन्छ कि सकिदैन भन्नेमा हामीलाई शंका नै थियो ।
मेरो पडोस (छिमेक) मा मजिम राइन भन्ने एक जना हुनुहन्छ । उहाँलाई मैले मेरो सबै समस्या भनेँ । र, मिटरव्याजी विरुद्ध सरकारले कारबाही गर्न खोजेको भन्ने सुनेकोले त्यसमा सहयोग गर्न आग्रह पनि गरेँ । उहाँले मलाई भन्नुभयो– पर्सि १२ विगाहामा मिटरव्याज पीडितहरु जम्मा हुँदैछन् । त्यहाँबाट एउटा र्याली निस्कन्छ । त्यो र्याली जनकपुरमा, सिडिओ अफिसमा, जिल्ला अदालतमा सबै ठाउँमा जान्छ । अनि मन्त्रीको अगाडि सबैले आआफ्नो कुरा राख्न पाइन्छ । तिमी पनि त्यसमा सामेल हौ ।
उहाँले भनेको दिन म पनि १२ विगाहा पुगेँ । सबैजना आउनु भएको थियो । अनि म पनि यो र्यालीमा सहभागी भएँ । उहाँ (मजिम राइन) माओवादीको समयदेखि नै माओवादीको राजनीतिमा सहभागी हुनुहुन्छ । सुरुमा त उहाँले ३÷४ सयजति तमसुक फटा गराइदिनु (च्यातिदिनु) भएको थियो ।
अहिले हामी हाम्रो सम्पत्ती फिर्ता लिन र मिटरव्याजीले हामीमाथि गरेको अन्याय सुनाउन काठमाडौं आएका छौं । हामीले न्याय पाउने हो कि होइन थाहा छैन । मन्त्रीले, प्रधानमन्त्रीले के–के भन्नुभएको छ रे । उहाँहरुले हाम्रो समस्या सुनेर, हेरेर हामीलाई न्याय दिलाइदिनु हुन्छ कि !
(मिटरव्याजीबाट पीडित बैठासँग गरिएको कुराकानीको सम्पादित अंश)