‘प्रेमा’ शुक्रबार प्रदर्शनमा आउँदै
काठमाडौं –चलचित्र ‘प्रेमा’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रको बुधबार प्रिमियर गरिएको छ । प्रिमियरपछि फिल्मकर्मीले चलचित्रप्रति उत्साहजनक प्रतिक्रिया दिएका छन् ।
‘महापुरुष’की डेब्यू अभिनेत्री अञ्जना बराइलीले चलचित्र आफूलाई राम्रो लागेको बताइन् । उनले फिल्मको प्रमुख तीन कलाकार अरुण क्षेत्री, शुभेच्क्षा खड्का र सृष्टि श्रेष्ठको अभिनय मन परेको जनाइन् ।
अभिनेता तथा मोडल कुन्साङ लामाले धेरैपछि राम्रो रोमान्टिक फिल्म हेर्न पाएको खुलाए । यस्तै, अभिनेता अरुण क्षेत्रीले आफू हिजोसम्म ‘न्यूट्रल’ रहे पनि प्रिमियरपछि प्राप्त प्रतिक्रियाबाट ढुक्क रहेको बताए ।
अभिनेत्री शुभेच्क्षा खड्काले आफ्नो अभिनयको तारिफ सुन्दा खुशी लागेको बताइन् ।
निर्देशक गोविन्द सिंह भण्डारीले चलचित्र हेरिरहँदा जोकोहीले आफूलाई पात्रसँग कनेक्ट गरेको अनुभव हुने बताए । ‘मेरो कथा र निर्देशनप्रति दर्शकहरु सहमत हुनुहुन्छ भन्नेमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले म ढुक्क भएँ’, उनले भने ।
निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण भएको हो । फिल्ममा अरुण, सुभेक्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ । फिल्मको कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन् ।