Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसईई परीक्षा भोलिदेखि

देशभर ५ लाख १६ हजार ५९१ परीक्षार्थी
बिहीबार, चैत १६, २०७९

काठमाडौं–यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ । परीक्षाको सबै तयारी पूरा भइसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

samridhi jewllers

बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा देशभरबाट कुल ५ लाख १६ हजार ५९१ जना परीक्षार्थी सहभागी हुँदै छन् । जसमध्ये २ लाख ६० हजार ६७४ जना छात्र र २ लाख ५५ हजार ९१७ जना छात्राले एसईई परीक्षा दिँदै छन् ।

बोर्डका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले परीक्षाको सबै तयारी पूरा भइसकेको जनाउँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र सुरक्षा केन्द्रहरूमा र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको जानकारी दिए ।

बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ जना परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीले यस वर्ष पहिलो पटक जापानबाटै परीक्षा दिन लागेका हुन् ।

जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थी यसपटकको एसईईमा सहभागी हुन लागेका हुन् ।

शुक्रबार बिहान ८ बजेदेखि सञ्चालन हुने परीक्षा २९ चैतसम्म चल्नेछ । परीक्षाका लागि ७७ वटै जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बाग्मती प्रदेशमा छन् । बाग्मती प्रदेशका १ लाख १ हजार ७३३ परीक्षार्थीका लागि ४३४ वटा परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षामा सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छ । कर्णाली प्रदेशमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र छन् ।

नतिजा सुधार्न १ दिन बिदा

पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ । कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ । 

एसईईमा अनिवार्य विज्ञान विषयको नतिजा उकास्न यस पटकदेखि १ दिन बिदा दिइएको छ । २१ चैतमा  बिदा दिएर २२ चैतमा अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ । एसईईमा सबैभन्दा कमजोर नतिजा अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयको रहँदै आएको छ । त्यसबाहेक अनिवार्य नेपाली र सामाजिक शिक्षाको नतिजा पनि कमजोर नै मानिएको छ ।

अङ्ग्रेजी र गणितका लागि बिदा भए पनि विज्ञानका लागि परीक्षाको अघिल्लो दिन बिदा नहुँदा त्यसले नतिजामा असर पर्न गएको ठम्याइ राष्ट्रिय परीक्षा बोर्डको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार