एपिएफले जित्यो लगातार तेस्रो पटक ललितपुर मेयर्स कप
काठमाडौँ– सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
भर्खरै सम्पन्न फाइनलमा एपिएफले कोसी प्रदेशलाई हराउदै उपाधि जितेको हो ।
यससँगै एपिएफले नयाँ कीर्तिमानसमेत बनाएको छ । ललितपुर मेयर्स कपको तीनै संस्करणको उपाधि जित्दै एपिएफले कीर्तिमान बनाएको हो ।
एपिएफले पहिलो र दोस्रो संस्करणमा सुदूरपश्चिम प्रदेशलाई गरेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भएको फाइनल खेलमा कोसी प्रदेशलाई ५४ रनले पराजित गर्दै एपिएफले लगातार तेस्रो पटक उपाधि हात पार्न सफल भयो ।
एपिएफले दिएको १५५ रनको लक्ष्य पछ्याएको कोसी प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १०० रन मात्र बनाउन सक्यो ।
कोशीका लागि कप्तान रुविना क्षेत्रीले ३५ तथा लकिता राजवंशीले अविजित २१ तथा अप्सरी बेगमले १० रन बनाइन् ।
एपिएफका लागि बिनु बुढाले २ तथा सोनु खड्का, रेखा रावल र नेरी थापाले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा मात्र १ विकेट गुमाएर १५४ रन बनाएको हो ।
एपिएफका लागि ओपनर तथा कप्तान सीता रानामगरले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७९ रन बनाइन् ।
यस्तै, इन्दु बर्माले पनि अर्धशतकीय पारी नै खेल्दै ५१ रनको योगदान दिइन् ।
कोसीका लागि एकमात्र विकेट अलिसा खडियाले लिइन् ।
जारी प्रतियोगितामा अपराजित रहँदै एपिएफ विजेता बनेको हो ।