Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओलीको टिप्पणी–पद धरापमा पर्छ भनेर सीमा विवादबारे प्रधानमन्त्री मौन छन्

बिहीबार, चैत १६, २०७९

काठमाडौं –नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारको भूमि कहाँदेखि कहाँसम्म मिचिएको छ जवाफ दिन माग गरेका छन् । 

‘हाम्रो सीमा मिचिदो छ । भूमि खुम्चिदो छ । सरकार मौन छ । किनभने, बोल्यो भने उसको सत्ता धरापमा पर्छ,’ ओलीले बिहीबार काठमाडौंमा रिपोटर्स क्लबको रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रममा भने ।

राष्ट्रियता अफ्ठ्यारोमा हुँदा देशको पक्षमा बोल्दा  पद नै खतरामा पर्छ भनेर सरकार राष्ट्रका पक्षमा बोल्न नसकिरहेको ओलीले टिप्पणी गरे । ‘राष्ट्रको सरकार भन्न लायक अवस्था छैन । नेपाली भूमि मिचिएको बारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छै’,ओलीले भने ।

‘हाम्रो भूमि र अखण्डताको बारेमा सरकारले अविलम्ब बोलोस् । हाम्रो भूमि के भइरहेको छ ? भूमि अतिक्रमित भएको छ कि छैन ? भएको छ भने कहाँ कहाँ भएको छ ?’आलीले प्रश्न गरे ।

ओलीले अहिलेको सरकारको कुनै गन्तव्य नै नभएको पनि टिप्पणी गरे । अहिलेको सरकार कहाँ पुग्ने र के का लागि बनेको हो भन्नेसमेतमा अलमल रहेको टिप्पणी गरे । ‘सरकारको एउटा गन्तव्य हुनु पर्दछ । कहाँ पुग्ने हो ? के का लागि बनेको हो ? त्यो केही पनि छैन’, उनले भने ।

अहिलेको सत्ता गठबन्धनले देशलाई लामखुट्टेलेझैं चुसिरहेको आरोप लगाउँदै सत्ता गठबन्धनका गतिविधिका कारण देश निरन्तर ओरालोतर्फ लागेको दाबी गरे ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १५:४६
प्रतिक्रिया दिनुहोस्