तातोपानी नाका वैशाख १८ देखि पूर्णरूपमा सञ्चालनमा आउने
काठमाडौं-देशकै महत्वपूर्ण व्यापारिक तातोपानी नाका पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएको हो ।
सहमतिअनुसार अब चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालमा रहेको तातोपानी नाका १८ वैशाखदेखि पूर्णरूपमा पहिले जस्तै सुचारु हुने छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकपछि जारी विज्ञप्ति अनुसार तातोपानी नाकाबाट भूकम्प अघिकै अवस्थामा २ तर्फी व्यापार र नागरिकको आवतजावत सूचारु हुने भएको छ ।
चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले वार्ता टोलीको नेतृत्व गरेका थिए ।
बैठकमा सीमा पारी व्यापार र जनताबीचको आवतजावतलाई अधिकतम स्तरमा सुचारु गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधारलगायत सीमा व्यापार र सहकार्यमा सहयोगका नयाँ बाटो खोज्ने विषयमा छलफल भएको छ ।
दुवै पक्षले १८ चैत २०७९ देखि रसुवागढी र केरुङ निकास र प्रवेशद्वारलाई २ तर्फी व्यापार र जनता–जनताको आवतजावतका लागि पूर्णדपमा सञ्चालन गर्ने सहमति गरेका छन् । तातोपानी र झाङ्मु हुँदै २ तर्फी व्यापार र मानव आवागमन १८ वैशाख २०८० देखि सूचारु हुनेछ ।
छलफलमा नेपालको उत्तरी हिमाली क्षेत्रका सीमावर्ती जिल्लाहरूमा बसोबास गर्ने मानिसहरूको जीवनस्तरमा सुधार ल्याउन सहयोगको स्तर अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई पनि जोड दिइएको छ ।
नेपालको प्रमुख व्यापारिक तातोपानी नाका १२ वैशाख २०७२ को भूकम्प पछि बन्द भएको थियो । त्यसपछि चुनावी एजेण्डा बनाएका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बन्द नाका खुलाइएको थियो । कोभिड –१९ को संक्रमण पछि पुनः बन्द भएको नाका लामो समयपछि सिमित आयातसँगै एकतर्फि मात्रै खुलेको छ भने नागरिक आवतजावत गर्न प्रतिवन्ध छ ।