एनआईसी एसिया बैंकको आफ्नै पेमेन्ट स्विच सञ्चालन
काठमाडौं –एनआईसी एसिया बैंकले सोसाइट म्यागरबाइन डी मन्टिक (एस२एम) सिस्टमसँगको सहकार्यमा आफ्नै पेमेन्ट स्विच (इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (ईएफटी) पेमेन्ट स्विच) सञ्चालनमा ल्याएको छ ।
बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको हो ।
डिजिटल कारोबारमा आम ग्राहकको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त आफ्नै पूर्वाधार खडा गरेको हो ।
यस स्विचको मद्दतले यस बैंकका पस तथा एटीएम टर्मिनलहरुमार्फत गरिने कारोबारलाई अन्तराबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र सरल समेत बनाउन ठोस टेवा मिल्नेछ ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप आधुनिक प्रविधिहरु आत्मसात गर्दै बैंकले सञ्चालनमा ल्याएको यस स्वीचको उच्चतम सदुपयोग गरी आम ग्राहकहरुमाझ नवीनतम प्रविधिमा आधारित विभिन्न डिजिटल प्रोडक्ट तथा सेवाहरु पु¥याउन मद्दत पुग्ने हुँदा उनीहरुको दैनिक बैंकिङ्ग अनुभवलाई नै अझ परिष्कृत बनाउन उक्त स्विच कोशेढुंगा साबित हुने बैंकले विश्वास लिएको छ ।
एनआई सी एशिया बैंक मुलुकमा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरूमध्येको बैंक हो ।
बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०७ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकले जनाएको छ ।