ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो तीन महिनापछि स्वदेश फर्किए
ब्रासिलिया– ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो आफ्नो कार्यकालको अन्तिम समयमा अमेरिका प्रस्थान गरेको तीन महिनापछि बिहीबार स्वदेश फर्किएका छन् ।
ब्राजिलका वर्तमान राष्ट्रपति लुलाले जनवरी १ मा सपथ लिनुभन्दा दुई दिन अघि शहर छोडेर भागेका पूर्व राष्ट्रपति तथा सेनाका पूर्व क्याप्टेन फ्लोरिडाको ओर्लान्डोबाट व्यावसायिक उडानमार्फत ब्रासिलिया फर्किएका हुन् ।
बोल्सोनारोको स्वागतका लागि ब्राजिलको झण्डा फहराइरहेका सयौं समर्थक उनको स्वागतका लागि विमानस्थल आगमन क्षेत्रमा पुगेका थिए । उनीहरूले उहाँको समर्थनमा नारा लगाएका थिए भने राष्ट्रियगान गाएर उनलाई भब्य स्वागत गरेका थिए ।
‘हामी लामो समयदेखि यो क्षणको प्रतिक्षामा थियौँ । हामी जनवरी १ देखि यसको प्रतिक्षामा थियौँ,’ ४६ वर्षीया ब्युटिसियन इभा मेल्गाकोले एएफपीसँग भनिन् ।
अठ्सठ्ठी वर्षीय बोल्सोनारोले लिबरल पार्टीको मानार्थ अध्यक्षको रूपमा अर्को हप्तादेखि जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
ब्राजिलको सम्पन्न एक वस्तीमा हालै घर भाडामा लिएका पूर्व राष्ट्रपति ले ब्राजिललाई ‘राजनीति गर्ने’ र ‘रुढिवादको ब्यानरलाई कायम राख्ने’ योजना बनाएको बताएका छन् ।
बोल्सोनारोले सीएनएन ब्रासिलसँग कुरा गर्दै भने, ‘म कुनै पनि विपक्षीको नेतृत्व गर्ने छैन । यो सरकारको विरोध गर्नु पर्दैन । यसले आफैं विरोधको वातावरण सिर्जना गर्छ ।’