Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा मन्दिर भत्किँदा कम्तीमा ८ जनाको मृत्यु

शुक्रबार, चैत १७, २०७९

नयाँ दिल्ली– भारतमा रामनवमी पर्व मनाउन भेला भएका भक्तजन मन्दिरको इनारमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ । 

घटनास्थलबाट एक दर्जनभन्दा बढी व्यक्तिको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ ।

मध्य सहर इन्दोरमा सिँढीबाट पानीको स्रोतसम्म पुग्ने गरी खनिएको इनारमा उनीहरू फसेका थिए । 

घटनाको पुष्टि गर्दै प्रहरी अधिकारी मनिष कपुरियाले एएफपीसँग भने, ‘हामीले आठ जनाको मृत शरिर फेला पारेका छौं र करिब एक दर्जनको उद्धार गरेका छौं ।’

टेलिभिजन फुटेजमा आपतकालीन कामदारले डोरी र भर्याङको प्रयोग गरेर मध्य प्रदेश राज्यमा इनारमा फसेकाहरूलाई पुर्याइएको देखिएको छ । अन्य भिडिओमा भत्किएको भुइँ र भाँचिएको फलामको बार प्रहरीले डोरीको सहायताले सिल गरेको देखिएको छ ।

हिन्दू धर्मावलम्बी भगवान् रामको जन्मोत्सव रामनवमीका अवसरमा आज देशभरका मन्दिरमा भक्तजनको भीड लागेको समय उक्त मन्दिरमा पनि भक्तजनहरूको पूजाका लागि घुइँचो लागेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०६:१६
प्रतिक्रिया दिनुहोस्