शेखर समूहको असन्तुष्टिपछि कांग्रेस सभापति देउवाले आज ४ जनालाई मात्र मन्त्री बनाउने
कठमाडौँ– डा शेखर कोइराला पक्षको असन्तुष्टिपछि नेपाली कांग्रेसले ४ जना मन्त्रीको नाममात्र आजका लागि सिफारिस गरेको छ ।
सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आफूले पाएका ८ मध्ये ४ जनाको मात्र नाम सिफारिस गरेको बताइएको छ ।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जान लागेको काग्रेसले बिहीबार ६ जना मन्त्रीको नाम टुंग्याएको थियोे ।
कोइराला समूहले सम्मानजनक सहभागिता नभए सरकारमा नजाने निर्णय गरेपछि अहिलेलाई ३ जनाको नाम काटिएको छ भने १ जना थपिएका छन् ।
नाम काटिनेमा धनराज गुरुङ, एनपी साउद र डिकबहादुर लिम्बू छन् । यस्तै, रमेश रिजाल थपिएका छन् ।
खड्का उपप्रधानसँगै रक्षा, डा प्रकाशशरण महत अर्थ, रिजाल उद्योग र सीता गुरुङ सहरी विकासमन्त्री बन्नेछन् ।
मन्त्रीहरूलाई आज दिउँसो ३ बजेपछि सपथ गराउने कार्यक्रम छ ।
आज बिहान बसेको शेखर समूहको पदाधिकारी बैठकले सम्मानजनक सहभागिता नभएको भन्दै सरकारमा नजाने निर्णय गरेको थियो ।
सभापति शेरबहादुर देउवाले कांग्रेसको भागमा परेका ८ मध्ये २ मन्त्रालय कोइराला समूहलाई प्रस्ताव गरेका छन् । तर कोइराला समूहले भने ३ वटा मागिरहेको छ ।