अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक र जनतासामू देखिएका अहिलेका सबैखाले चुनौतिहरुको समाधान गरिने विश्वास दिलाएका छन् । रिपोर्टर्स क्लब नेपालको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री दाहालले भने, ‘यो कार्यकालमा सुशासन, सामाजिक न्याय र समृद्धिको सपना बोकेर जनताको अगाडि खडा छु ।’ उनले सरकारको नेतृत्व गरेको सय दिन पुग्दा नपुग्दै, नयाँ–नयाँ राजनीतिक समीकरण देखिएको पनि बताए ।
‘सरकारलाई पूर्णता दिएको छु । मूलभूत रुपमा सरकारले पूर्णता पाएको छ । अब मैले अघि भनेजस्तै विकासका कामले गति लिनुपर्छ’, उनले भने ।
प्रधानमन्त्री दाहालले देश अहिले आर्थिक रुपले अप्ठ्यारो अवस्थामा गुज्रिएको टिप्पणी गरे ।
प्रधानमन्त्री दाहालले देशका सामु समस्या भएपनि अब सबैले मिलेर समाधान गरिने विश्वास दिलाए । उनले भने,‘सबैको सहयोगले दिगो समाधान गर्न सकिन्छ । गत साल नेपाल श्रीलंका बन्छ भन्ने आतंकजस्तो थियो । हामी नयाँ राजनीतिक पहलका साथ अघि बढ्दैछौं ।’