Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या

शनिबार, चैत १८, २०७९

इस्लामावाद– पाकिस्तानको कराँचीमा एकजना हिन्दू धर्मावलम्बी चिकित्सकको गोली हानेर हत्या भएको छ । आफ्नो क्लिनिकबाट घर फर्कँदै गरेका डाक्टर बीरबल गेनानीको बिहीबार गोली हानेर हत्या भएको हो ।

कराँची महानगरपालिकाका पूर्वस्वास्थ्य निर्देशक तथा आँखा विशेषज्ञ डा गेनानीलाई अज्ञात समूहले गोली हानेको र उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

डा गेनानीसँगै रहेकी एकजना सहयोगी चिकित्सकलाई पनि गोली लागेको छ । उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । हाल उनी जोखिममुक्त भएकी छन् ।

आक्रमणकारीका सम्बन्धमा ती महिला चिकित्सकसँग प्रहरीले सोधपुछ गरेको छ । अभियुक्तलाई कानूनको कठघरामा उभ्याउने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।

यसैबीच, सिन्धका गभर्नर कमरान खान टेसोरीले कराँचीका प्रहरी अतिरिक्त महानिरीक्षकसँग घटनाको प्रतिवेदन माग गर्दै आँखा विशेषज्ञको हत्याप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ०६:१०
प्रतिक्रिया दिनुहोस्