दुई पटकको एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिजले नेपालसँगै विश्वकप छनोट खेल्ने
काठमाडौँ– दुई पटकको एकदिवसीय क्रिकेट विश्वकप विजेता वेस्ट इन्डिजले नेपालसँगै विश्वकप छनोट प्रतियागिता खेल्ने भएको छ ।
सुपर लिगको शुक्रबारको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेसँगै वेस्ट इन्डिजले सिधा विश्वकप छनोटको अवसर गुमाएको हो ।
विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधै विश्वकप खेल्ने अवसर गुमाएसँगै वेस्ट इन्डिजको नेपालसँगको भेट पक्का भएको हो ।
अब वेस्ट इन्डिजले विश्वकपमा स्थान बनाउन आगामी १८ जुनदेखि ९ जुलाईसम्म जिम्बावेमा हुने छनोट खेल पार गर्नुपर्ने छ । जहाँ नेपालसँगै श्रीलंका, नेदरल्यान्ड्स र जिम्बावेजस्ता टोली सहभागी हुनेछन् ।
१३ टोली सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड र अफगानिस्तान भने छनोट भइसकेका छन् ।
बाँकी एक स्थानमा दक्षिण अफ्रिका र आयरल्यान्डको सम्भावना रहेको छ ।
वेस्ट इन्डिजले सन् १९७५ र १९७९ मा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । यो विश्वकपको पहिलो र दोस्रो संस्करण हो ।
वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा गरी दुई पटक नै टि–२० विश्वकप पनि जितेको छ ।