Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाल संस्कार केन्द्रलाई १० लाख बराबरको जग्गादान

शनिबार, चैत १८, २०७९

झापा– बाल संस्कार केन्द्र सञ्चालनका लागि हल्दिबारी वडा नं ३ की ईश्वरा तिवारी र खड्ग तिवारीले रु १० लाख मूल्य बराबरको एक कठ्ठा जग्गा दान गरेका छन् ।

जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपालका झापा अध्यक्ष शङ्कर भट्टराईले हल्दिबारीलगायत झापाका २५ स्थानमा हिन्दू धर्म, संस्कार र देशभक्ति शिक्षा प्रदान गर्न एक गाउँ एक बाल संस्कार केन्द्र सञ्चालन गर्दै आएको बताए ।

उनका अनुसार कोसी प्रदेशमै पहिलोपल्ट हल्दिबारी–३ मा बाल संस्कार केन्द्रलाई जग्गा प्राप्त भएको हो । सो जग्गामा भवन निर्माण गरी प्रदेशमै नमुनायोग्य कार्य गरिने उनले बताए । अभियानले विद्यालय गइरहेका बालबालिकालाई बिहान र बेलुकाको समयमा गाउँमै संस्कार शिक्षा दिएर समाजलाई गुण लगाएको विश्व हिन्दू परिषद् झापाका अध्यक्ष होमनाथ ढुङ्गेलले बताए ।

अभियानका कोसी प्रदेश उपाध्यक्ष पं सोमनाथ सुवेदीले असल संस्कार सिकाउने उद्देश्य लिएको बाल संस्कार केन्द्र मुलुकको ६४ जिल्लामा सञ्चालन भइरहेको जानकारी दिए । चैत २१ गतेदेखि अर्जुनधारा वडा नं ६ मा झापा र इलामका एकल विद्यालयका अध्यापकको सात दिवसीय बर्गभेला आयोजना गरियो ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्