Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिटरब्याज पीडितले प्रधानमन्त्रीलाई बुझाए ६ बुँदे माग

माग पूरा नभए काठमाडौंबाट घर नफर्कने चेतावनी
शनिबार, चैत १८, २०७९

काठमाडौं–मिटरब्याज पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ६ बुँदे माग बुझाएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर उनीहरू ६ बुँदे माग राखेका हुन् ।

पीडितहरूले पटकपटक काठमाडौं आउँदै सरकारी वार्ता टोलीसँग सहमति गरिएको भएपनि कार्यान्वयन नभएको प्रधानमन्त्री समक्ष गुनासो गरे ।

यसपटक प्रधानमन्त्रीकै मुखबाट पीडितहरूको समस्या समाधानको प्रतिबद्धता सुन्न चाहेको उनीहरूले बताए । मिटरब्याजको शक्तिशाली आयोग गठन गर्नुपर्ने र उक्त आयोगलाई कार्यकारी अधिकार दिनुपर्ने माग उनीहरूको छ ।

आयोगलाई मिटरब्याज वा तमसुकको आधारमा अदालतमा चलेका र चलाइएका मुद्दाहरू समेत फछर्यौट गर्ने अधिकार दिइनुपर्ने माग पीडितहरूको छ । 

त्यस्तै मिटरब्याजलाई आर्थिक अपराधको रूपमा कानुनी दायराभित्र ल्याउनका लागि गरिने कानुन संसशेधनको ड्राफ्ट वार्ता समितिमा पेस हुनुपर्ने माग पनि उनीहरूले राखेका छन् ।   

तमसुकका आधारमा चलाइएका मुद्दाहरू स्थगन गर्न, जारी पक्राउ पुर्जी स्थगन गर्न, जेल चलान गरिएका मुद्दाहरूमा समेत सम्बन्धित निकायसँग समन्वय गरी पीडितलाई न्याय दिलाउन महान्यायाधिवक्ताको कार्यालयबाट कार्यान्वयनका लागि सहमति पत्र पेस गर्न प्रधानमन्त्रीसमक्ष उनीहरूले माग राखेका छन् । 

पीडितहरुलाई राज्यले क्षतिपूर्ति प्रदान गर्ने आधारहरू प्रस्तुत गर्नुपर्ने पनि उनीहरुको माग छ ।

मिटरब्याजी साहु महाजनबाट पीडित महिलाहरू बलात्कृत भएको बताउँदै उनीहरूले पीडितको किटानी जाहेरी दर्ता गरी तत्काल पक्राउ गर्न माग राखेका छन् ।

आफूहरूको माग पूरा हुने वातावरण नभएसम्म यसपालि काठमाडौंबाट  घर नफर्किने पीडितहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष बताएका छन् ।  

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्