मन्त्री नबन्ने भनेको तर उपप्रधानमन्त्री नबन्ने कहिले पनि भनेको छैन : उपप्रधानमन्त्री खड्का
काठमाडौ– उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवासँगको सल्लाहमै मन्त्रालय बाँडफाँट गरिएको बताएका छन् । उनले मन्त्रालय बाँडफाँटको विषयमा पार्टी भित्र कुनै असन्ुष्टि नरहेको पनि बताए ।
परराष्ट्र वा अर्थमन्त्रालयमा आफ्नो दाबी रहेको भन्ने कुरामा सत्यता नरहेको बताउँदै खड्काले प्रकाशशरण महतलाई अर्थ मन्त्रालय दिने कुरामा आफ्नो पूर्ण सहमति रहेको जनाए ।
सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई १९ वटा मन्त्रालयका कुनमा जाने भनेर सोधेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘सभापति र प्रधानमन्त्रीले मलाई १९ वटा मन्त्रालय छन्, कुनमा जानु हुन्छ भनेर सोध्नु भयो । मैले रक्षा मन्त्रालय रोजेको हुँ,’ शनिबार काठमाडौंमा भएको कार्यक्रममा उनले भने ।
अहिलेको अवस्थामा रक्षा मन्त्रालयको भूमिका सामरिक हिसावले पनि महत्वपूर्ण हुने देखेकाले आफूले उक्त मन्त्रालय रोजेको पनि मन्त्री खड्काले स्पष्ट पारेका छन् ।
आफूले मन्त्री नबन्ने भनेको तर उपप्रधानमन्त्री नबन्ने भनेर कहिले पनि नभनेको दाबी उनले गरे ।
उनले भने, ‘मन्त्रीमात्रै भए अहिले पनि बन्ने थिइनँ । त्यसैले कुनै पनि टिप्पणी गर्नु आवश्यक छैन ।’