Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेल्जियमका नेपालीको सहयोगमा विद्यालयको नयाँ भवन निर्माण

शनिबार, चैत १८, २०७९

पर्वत –जलजला गाउँपालिका–३ माझफाँटमा रहेको विद्याज्योति माध्यमिक विद्यालयमा बेल्जियमको संस्था र गाउँपालिकाले झण्डै २ करोड रुपैयाँ लगानी गरेको छ ।

विद्यालयको मूल भवन पुरानो बनेर छाना चुहिने भएपछि सामान्यतः बर्षामा विद्यार्थी राख्न समस्या भएपछि भवन प्रयोगविहीन रहेको थियो । विद्यालयको छाना मर्मत गर्न सके भवनलाई प्रयोगमा ल्याउन सकिनृ विद्यालयले भनेपछि ‘विकास बेल्जियम’ नामक संस्था र गाउँपालिककाले नयाँ भवन बनाइदिएको हो ।

वैदेशिक रोजगारीको क्रममा बेल्जियममा रहेका नेपाली र बेल्जियमकै नागरिकहरू पनि आबद्ध ‘विकास बेल्जियम’ ले १ करोड २९ लाख १६ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । यस्तै जलजला गाउँपालिकाले पनि ४३ लाख ५ हजार ५ सय रुपैयाँ लगानी गरेको हो । कुल १ करोड ७२ लाख २२ हजार रुपैयाँको लागतमा आधुनिक पक्की भवन बनेपछि नयाँ भवनमा नै विद्यार्थीहरूलाई राखेर पठनपाठन चलिरहेको विद्यालयका प्रधानाध्यापक रघुनाथ आचार्यले बताए ।  

भवन बाहेक २१ लाख ९२ हजार ३ सय रुपैयाँको लागतमा विद्यालयलाई प्रविधियुक्त बनाउन विभिन्न सामग्रीहरू पनि ‘विकास बेल्जियम’ ले सहयोग गरेको छ । आधुनिक स्मार्ट बोर्ड, प्रोजेक्टरसहित प्रविधिका माध्यमबाट शिक्षण गराउन आवश्यक सामग्रीहरू खरिद गरिएको छ । यस्तै कक्षाकोठालाई थप व्यवस्थित बनाउन नयाँ फर्निचरहरू पनि सोही रकमबाट व्यवस्थापन गरिएको छ ।

विद्यालयमा आयोजना गरिएको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले भवनको उद्घाटन गरेका छन् । उनले आफू गाउँपालिकाको अध्यक्ष भएपछि पहिलो प्राथमिकतामा शिक्षा क्षेत्रलाई राखेको उल्लेख गर्दै परिवर्तन र जीवन सुधारको आधार नै शिक्षा क्षेत्र भएको बताए । 

कार्यक्रममा ‘विकास बेल्जियम’ उपाध्यक्ष करेल आर्टसले नेपालको ग्रामीण क्षेत्रमा रहेको गाउँका विद्यार्थीको उज्ज्वल भविष्यको लागि आफूहरूले सहयोग गरेको बताइ । 

कक्षा १२ सम्म सञ्चालित विद्यालयमा झण्डै ३ सय विद्यार्थीहरू अध्ययनरत छन् ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्