दाङको टरिगाउँ विमानस्थल विस्तार हुँदै
दाङ-तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो विकल्प छनोट गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ४ विकल्प दिएर विमानस्थल विस्तार गर्न सकिने गरी विस्तृत परियोजा प्रतिवेदन सार्वजनिक गरेको छ ।
तीमध्ये पहिलो विकल्पमा काम अगाडि बढाउन थालिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन् । ‘प्राधिकरणले ४ वटा विकल्प दिएको थियो’, उनले भनिन्, ‘तीमध्ये हामीले पहिलो विकल्प रोजेर पठएका छौँ ’
पहिलो विकल्पअनुसार पुरानै धावनमार्गलाई बढाउने गरी तयारी गरिएको छ । हालको ७५० मिटर धावनमार्ग बढाएर १ हजार २३० मिटर लम्बाइ बनाउने तयारी छ ।
उपमहानगरद्वारा गठित टरिगाउँ एयरपोर्ट विस्तार सहयोग समितिका संयोजक चौधरीले सोहीस्तरको विमान बनाउन ५७ बिघा जग्गा चाहिने जानकारी दिइन् । विमानस्थलको ३९ बिघा जग्गा छ । बाँकी सामुदायिक वनको १२ बिघा, अधिग्रहण १ दशमलव २ बिघा र सार्वजनिक जग्गा ४ दशमलव ८ बिघा लैजानुपर्छ ।
विमानस्थल बनाउँदा ६ अर्ब १५ करोड ९१ लाख ५४ हजार ८ सय रुपैयाँ लागत अनुमान गरिएको छ । सोहीअनुसार फाइल सम्बन्धित निकायमा पठाइसकेको संयोजक चौधरीले बताइन् ।
यो विकल्पअनुसार अहिले रहेका घर फाल्न पर्दैन । मन्दिर क्षेत्रको केही जग्गा प्रयोग हुने छ। यसरी विमानस्थल बनाउँदा एकातिरबाट मात्रै अवतरण र उडान गर्नुपर्ने हुन्छ । यसमा रातको समयमा र कम ‘भिजिविलिटी’ हुँदा अवतरण गर्नसक्ने अवस्था रहँदैन ।
रातमा हवाई अवतरण गर्न थप ४५० मिटर जमिन चाहिन्छ । यो डिजाइनअनुसार काम गरेमा ५ वर्षमा विमानस्थल बन्नेछ । यसमा ‘आइई’ र ‘इआइए’ गर्न २ वर्ष लाग्छ । साथै जग्गा अधिग्रहण गरेपछि ३ वर्ष लाग्छ ।
टरिगाउँ विमानस्थलमा २०११ देखि २०४२ सालसम्म नियमितरूपमा सञ्चालनमा भएको हो । त्यतिबेला सीधा दाङ–काठमाडौँ जाने यातायातको अर्को विकल्प थिएन । राप्ती नदीमा पुल निर्माण भइसकेको थिएन भने बुटवलस्थित तिनाउमा पनि पुल थिएन ।
यात्रु रुपैडिया र भैरहवा भएर भारतीय भूमि हुँदै विराटनगर वा काठमाडौँ जानुपर्ने स्थिति थियो । केही समय अवरोध भए पनि जसोतसो २०७० सम्म विमान सञ्चालनमा आएको थियो ।
त्यसपछि टरिगाउँ विमानस्थलको कालोपत्रेको लागि विमानस्थल अवरुद्ध बन्यो । विमानस्थल कालोपत्रे भएपछि तारा एयरले पहिलोपटक दाङ र रुुकममा एकै दिन परीक्षण उडान भरेको थियो । त्यसपछि रुकुममा विमान नियमित भए पनि त्यसको झन्डै १ वर्षको अन्तरालमा मात्रै १४ जेठ २०७२ सालदेखि टरिगाउँ विमानस्थलबाट गोमा एयरले विमान सेवा सुरु गरे पनि १ वर्ष पुग्दा नपुग्दै अवरुद्ध बन्यो ।
विमानस्थलमा हाल १९ सिट क्षमताको विमान मात्रै अवतरण गर्न सक्छ । साढे ८ करोडको टेन्डरबाट कालोपत्रे गरिएको टरिगाउँ विमानस्थलको धावनमार्गको लम्बाइ ७५० मिटरको छ भने चौडाइ ३० मिटर छ ।
ठूला खाले विमान अवतरणलाई कम्तीमा धावनमार्गको लम्बाइ १ हजार २ सय मिटरदेखि माथि १ हजार ५ सय मिटरसम्मको र चौडाइ ३० देखि ५० मिटरसम्मको धावन मार्ग कालोपत्रे आवश्यक पर्छ । हाल यहाँ नेपाल एयरलाइन्स र सीता एयरलाइन्सका जहाजले उडान भरिरहेका छन् । हाल शुक्रबारबाहेक सबै दिन टरिगाउँबाट हवाई सेवा छ ।