सौर्य एयरलाइन्सले काठमाडौंबाट पोखरामा दैनिक ४ उडान गर्ने
काठमाडौं– यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै सौर्य एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ४ उडान गर्ने भएको छ । हाल २ वटा उडान गर्दै आएको सौर्यले चैत १९ अर्थात अप्रिल २देखि ४ उडान गर्ने बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमानमार्फत उडान गर्दै आएको सौर्यले दैनिक बिहान ८.३० बजे, ९.३५ र दिउँसो २.४० र ३.३० मा उडान गर्ने तालिका तयर भएको जानकारी उनले दिए ।
जेट विमानको यात्रा पोखरेलीहरुले धेरै रुचाएको कारण अन्य गन्तव्यको उडान कटान गरेर पोखरामा थप गरिएको जनाएको छ ।
जेट विमानबाट पोखरामा २० मिनेटमै पुग्न सकिन्छ । हाल पोखराको हवाई भाडा ४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सौर्यले हाल २ वटा जहाजमार्फत विराटनगर, भद्रपुर र पोखरामा मात्र उडान गर्दै आएको छ । अहिले धनगढी र भैरहवाको उडान केही समयका लागि स्थगन गरिएको समेत जनाएको छ ।