Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

शनिबार, चैत १८, २०७९

कैलाली-कोरोना संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ ।

भारतबाट नेपाल भित्रिरहेकाहरूमा दैनिक रुपमा संक्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो ।  

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखा पर्न थालेको छ ।

‘संक्रमित दैनिक रूपमा देखा पर्न थालेपछि सीमाबाट भित्रिनेलाई अनिवार्य मास्क र कोरोना परीक्षण कार्य जारी राखेका छौं,’ उनले भने ।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ । संक्रमण समुदायस्तरसम्म नपुगोस् भन्ने उद्देश्यले सीमा नाकामा स्वदेश फर्किएकाको स्वास्थ्य परीक्षणमा कडाइ गरिएको हो । 

भारतमा संक्रमण तीव्र रूपमा फैलिरहेकाले त्यसको प्रभाव यहाँ पनि पर्न थालेकाले यहाँका सबै नाकामा कडाइ गरिएको जोशीको भनाइ छ ।

‘भारतबाट फर्किने अधिकांशमा संक्रमण देखिन थालेपछि त्यसको रोकथाम र नियन्त्रणका नाकामा थप कडाइ गरेका हौं,’ उनले भने ।  चैत सुरू भएयता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ६२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

सीमानाकामा परीक्षण गर्दा दैनिक रूपमा कोरोना संक्रमण देखिरहेको समुदायस्तरमा पनि यसको जोखिम बढेको छ । भारतमा संक्रमण देखिएका सहरसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक रहेको जनाइएको छ । 

नयाँ वर्ष नजिक आइरहेका बेला सबै नाकामा स्वदेश फर्किनेको क्रम पनि बढेको छ । स्वदेश फर्किनेको संख्या बढिरहेकाले जोखिम बढेकाले सीमामै परीक्षणपछि मात्रै आउन दिइएको र संक्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेसनमा बस्न भन्ने गरिएको जोशीले बताए ।

जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नाका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ । प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएपछि स्वास्थ्यका मापदण्ड अपनाउनसमेत आग्रह गरिएको छ । कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको निर्देशनालयले जनाएको छ ।

संक्रमित भारतीय नागरिक फिर्ता 

सीमानाका झुलाघाटबाट नेपाल प्रवेश गर्न लागेका १ भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई भारत फिर्ता पठाइएको छ । नेपाल आउन लागेका भारतको पिथौरागढका ५८ वर्षीय पुरूषमा कोरोना पुष्टि भएपछि उनलाई नाकाबाटै भारत फिर्ता पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

दशरथचन्द नगरपालिका–८ मा रहेको त्रिपुरासुन्दरी जात्रामा सहभागी हुन आइरहेका ती पुरूषमा कोरोना देखिएपछि उनलाई नेपाल आउन नदिइएको प्रमुख भट्टको भनाइ छ ।

भारतीय नागरिकमा कोरोना संक्रमण देखिएपछि झुलाघाट नाकामा पनि थप कडाइ गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । कोरोना संक्रमण देखिन थालेपछि झुलाघाट नाकाबाट स्वदेश फर्कनेको कोरोना परीक्षण र अनिवार्य मास्क लगाएर मात्रै फर्कने नियम बनाइएको छ । 

सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ४५ हजार ६३४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार ९४६ जनामा संक्रमित भइसकेको छ । संक्रमणकै कारण यस प्रदेशमा ६३५ जनाको ज्यान गइसकेको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १८:२१
प्रतिक्रिया दिनुहोस्