दलको खराब प्रवृत्तिका कारण नयाँ शक्तिको उदयः अध्यक्ष केसी
काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको टिप्पणी गरेका छन् ।
पूर्वउपप्रधानमन्त्री तथा सङ्घीय सांसदसमेत रहेका नेता केसीले राजनीतिमा सत्ता र शक्तिबाहेक अरु केही चिन्ता नगर्नेहरूबाट विकासको आश गर्नु गलत भएको बताए ।
बागलुङको जैमिनी नगरपालिकाले आयोजना गरेको विज्ञ सम्मेलनको उद्घाटनमा नेता केसीले नयाँ शक्ति उदय हुनुको कारण दलप्रतिको वितृष्णा जागेको धारणा राखेका हुन् ।
‘अस्थिर सरकारले किसान, गरिब तथा निमुखालाई समस्या बनाएको छ । सरकारले विषादीयुक्त तरकारी आयातमा रोक लगाउनुपर्छ । अहिले सरकारले त्यो गर्न सकेको छैन । मान्छेले घर छाडेपछि बाँदर भित्रियो । अहिले बसाइँसराइले गाउँ खाली भएको छ । स्रोत र साधन परिचालनमा विज्ञ सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ अध्यक्ष केसीले भने ।
विज्ञहरुको सुझावका आधारमा कृषि, उद्योग र पर्यटनमा जोड दिन सके समृद्ध जैमिनी बन्नेमा शङ्का नरहेको बताउँदै नेता केसीले स्थानीय उत्पादन बजारीकरणको जिम्मा लिन आवश्यक रहेको धारणा राखे ।