पोप फ्रान्सिस अस्पतालबाट घर फिर्ता
रोम– श्वासप्रश्वास (ब्रोन्काइटिस)सम्बन्धी समस्याका कारण तीन रातको अस्पताल बसाइपछि स्वास्थमा सुधार आएपछि पोप फ्रान्सिस शनिबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।
क्रिश्चियन धर्मको सबैभन्दा महत्वपूर्ण हप्ताको तयारीका लागि भ्याटिकन फर्केका उनले शनिबार आफ्ना शुभचिन्तकहरूसँग ठट्टा गर्दै आफू अझै सबै अनुयायीको सेवाका लागि अस्पतालबाट फर्केर आएको बताएका थिए ।
श्वासप्रश्वासमा समस्या भएपछि बुधबार रोमको जेमेली अस्पतालमा भर्ना भएका ८६ वर्षीय धर्मगुरु कारबाट ओर्लेर मुस्कुराउँदै आफ्नो स्वास्थ्यमा सुधार आएको बताएका थिए ।
फ्रान्सिसले अब क्रिश्चियन क्यालेन्डरको सबैभन्दा महत्वपूर्ण हप्ता पवित्र सप्ताह र इस्टरको तयारी सुरु गर्नेछन् ।
सेन्ट पिटर स्क्वायरमा बुधबार आयोजित धार्मिक सभापछि पोपले आफूलाई अस्वस्थ महसुस गरेका थिए । तर अस्पतालको बसाइमा उनलाई एन्टिबायोटिक दिएपछि स्वास्थ्यमा छिट्टै सुधार आएको हो ।
पोपले शनिबार सेन्ट पिटर्स स्क्वायरमा ‘पाम सन्डे मास’को अध्यक्षता गर्ने बताएका छन् ।