दुई पटकको विजेता कोलकाता पञ्जाबसँग पराजित
काठमाडौँ– १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दुई पटकको विजेता कोलकाता नाइट राइडर्स पञ्जाब किंग्ससँग पराजित भएको छ ।
गएराति मोहालीमा भएको खेलमा कोलकाता घरेलु टोली पञ्जाबसँग ७ रनको झिनो अन्तरले पराजित भएको हो ।
जारी प्रतियोगितामा पञ्जाबले पहिलो जित निकालेको हो ।
१६ ओभर सकिँदा भारी बर्षा भएपछि खेलको निर्णय डिएल मेथडबाट भएको थियो ।
पञ्जाबले दिएको १९२ रनको लक्ष्य कोलकाताले पछ्याइरहँदा भारी वर्षा भएको हो ।
कोलकत्ताले १६ ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाउँदा भारी वर्षाका कारण खेल रोकिएको थियो ।
वर्षा नरोकिएपछि डिएल मेथडमा पञ्जाब ७ रनले विजयी भएको हो ।
कोलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक ३५ रन बनाउँदा वेंकटेश अय्यरले ३४ रन जोडे ।
यस्तै, कप्तान नितिश राणाले २४ तथा रहमनउल्लाह गुर्वाजले २२ रन बनाए ।
पञ्जाबका लागि अर्शदीप सिंहले ३ तथा राहुल चहर, नाथन एलिस, सिकन्दर राजा र साम करनले समान १÷१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो ।
पञ्जाबका लागि भानुका राजपाक्षेले ५० रनको अर्धशतकीय पारी खेले ।
यस्तै, कप्तान शिखर धवनले ४० रन बनाउँदा साम साम करनले अविजित २६ रन जोडे ।
प्रभ्सिमरन सिंहले २३ तथा जितेश शर्माले २१ रन जोड्दा सिकन्दर राजाले १६ रन बनाए ।
यसैगरी, अविजित रहेका शाहरुख खानले ११ रन बनाए ।
कोलकातामा टिम साउथीले सर्वाधिक २ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त भएन ।
पहिलो खेलमै जित हात पारेको पञ्जाब २ अंकका साथतेस्रो स्थानमा रहेको छ । कोलकता भने अंकविहीन रहँदै आठौँ स्थानमा रहेको छ ।
गएराति नै भएको अर्को खेलमा लखनाऊ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराएको थियो ।