Nic Ad Nic Ad
Nic Ad Nic Ad

कालीपुल बसपार्कमा अपाङ्गमैत्री टर्मिनल भवन

सोमबार, चैत २०, २०७९

म्याग्दी –कालीपुल बसपार्कमा अपाङ्गमैत्री टर्मिनल भवन निर्माण भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङको २ करोड ७५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवन बेनी नगरपालिकालाई हस्तान्तरण गरिने छ ।

बेनी नगरपालिका–८ कालीपुल बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालनका लागि गुरुयोजना अनुसार टर्मिनल भवन निर्माण गरिएको हो । देशका विभिन्न ठाउँबाट आउने र जाने सवारीसाधन बिसौनीको रूपमा प्रयोग हुँदै आएको कालीपुल बसपार्कमा यात्रुलाई सहज सुविधाका लागि टर्मिनल भवन निर्माण गरेको बेनी नगरपालिका मेयर सुरत केसीले बताए ।

सघन शहरी तथा भवन आयोजना कार्यालय बागलुङले शुभ कन्स्ट्रक्सन काठमाडौंसँग सम्झौता गरेअनुसार सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गर्न लागिएको आयोजनाकी इन्जिनियर विना साकटुले जानकारी दिइन् । ‘सार्वजनिक शौचालय, बाथरुम, टिकट काउण्टर र यात्रु प्रतिक्षालयलगायतको सुविधा टर्मिनल भवनमा छ’, उनले भनिन् ।

आयोजनाले भवन हस्तान्तरण गरेर नगरपालिकाको स्वामित्वमा आएमा टिकट काउण्टरको रूपमा प्रयोग गरिने नगर प्रमुख सुरत केसीले बताए । उनले टर्मिनल भवनमा मात्र टिकट काउण्टर राख्न पाउने जानकारी दिए । आगामी दिनमा टर्मिनल भवनबाहेक अन्य सार्वजनिक क्षेत्रमा काउण्टर राख्न नगरपालिकाले नदिने नगरप्रमुख केसीको भनाइ छ । 

‘भवनभित्र आवश्यक पूर्वाधार निर्माण नगरले गर्छ । सबै यातायात व्यवसायीको टिकट काउण्टर सञ्चालन भवनमा भए यात्रुलाई सहज हुन्छ,’ मेयर केसीले भने ‘भवनमा काउण्टर राख्नका लागि यातायात व्यवसायीलाई आवेदनका लागि नगरले सूचना सार्वजनिक गरेको छ ।’

बेनीदेखि काठमाडौं, पोखरा, सुनौली, हिमालपारिको जिल्ला मुस्ताङ र देशको विभिन्न स्थानबाट आउने र जाने सवारीसाधनको पार्किङस्थल कालीपुल बसपार्क हो । यातायातको बढ्दो चापलाई मध्यनजर गर्दै बसपार्कमा रहेका पुराना अव्यवस्थित संरचना हटाउँदै बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिका लागिपरेको छ । 

बसपार्क निर्माण गर्ने २०७४ सालमा सहरी विकास मन्त्रालयले २१ करोड रुपैयाँमा बसपार्क गुरुयोजना बनाउने डीपीआर तयारी पारेको थियो ।  गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघ सरकारको सहकार्यमा बजेट विनियोजनबाट पूर्वाधार निर्माणले निरन्तरता पाएको छ । २०६४ सालमा पर्वत र म्याग्दी जोड्ने कालिगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सुरु भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्