Nic Ad Nic Ad
Nic Ad Nic Ad

अपर अरुण आयोजनाले बाँड्यो मुआब्जा

सोमबार, चैत २०, २०७९

सङ्खुवासभा–सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन १ हजार ६१ मेगावाटको अपर अरुण आयोजना प्रभावित क्षेत्रमा मुआब्जा वितरण गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका लागि छुट्टाइएको ७८८ कित्तामध्ये ६९९ कित्ताकाट गरिसकेको छ । अपर अरुण आयोजना प्रभावित क्षेत्रमा १ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी भइसकेको आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले जानकारी दिए । उनका अनुसार प्रभावित क्षेत्रमा हालसम्म ६४ प्रतिशत रकम वितरण गरिसकेको छ । 

आयोजनाका लागि भोटखोलामा २ हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । १ हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमता रहेको यस आयोजना सरकारले निर्माण गर्ने गरी काम अघि बढाइएको हो ।

आयोजनाअन्तर्गत भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोलाका प्रभावित स्थानीयले मुआब्जा पाउनेछन् । उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जग्गाका लागि प्रतिरोपनी १५ लाख रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ भने कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गाका लागि प्रतिरोपनी १० लाख रुपैयाँ निर्धारण गरिएको छ । 

जलविद्युत् आयोजनाको अनुमानित लागत २ अर्ब २६ करोड रुपैयाँ छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको ६ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । आयोजनाका लागि ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ ।

अपर अरुण आयोजनाका लागि पहुँच मार्ग बनाउने प्रक्रिया थालिएको छ । प्राधिकरणले २ दशमलव ०३ किमी सुरुङमार्गसहित करिब २२ किमी पहुँच सडक निर्माणका लागि भारतीयको गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । 

पहुँच मार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ । ७ अर्ब ९१ करोड ३९ लाख रुपैयाँमा सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्