Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘प्रसाद–२’ निर्माताविरुद्ध पक्राउ पुर्जी

सोमबार, चैत २०, २०७९

काठमाडौं – निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा फिल्म ‘प्रसाद २’ का निर्माता सुवास थापा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उच्च अदालत पाटनले थापा विरुद्धको बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेको हो । केशव पाण्डेले दिएको निवेदनको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतबाट पक्राउ अनुमति पाएको हो ।

काठमाडौं परिसर प्रमुख दानबहादुर कार्कीले थापा विरुद्ध उजुरी परेको र उनी फरार रहेको बताए । प्रसादका निर्माता रहेका उनले प्रसाद–२ को निर्माता बनाउँछु भन्दै पाण्डेसँग ६२ लाख ५० हजार रुपैयाँ लिएर पछि अर्कैलाई निर्माता बनाएर फिल्मको छायाँकन गराएका थिए ।

थापाले कलाकार, प्राविधिक र फिल्म सुटिङ गरेको कास्कीको होमस्टेको समेत पैसा नदिई फरार भएपछि कलाकार संघ, प्राविधिक संघ र चलचित्र विकास बोर्डमा उजुरी परिसकेको छ । पाण्डेले निर्माता संघमा समेत उजुरी दिएको बताए । 

उनले थापाको बदमासी खुलाउँदै चलचित्र विकास बोर्डमा उजुरी दिन खोज्दा बोर्डका अध्यक्ष भुवन केसीको निर्देशनमा निवेदनै दर्ता नगरेको बताए ।

‘प्रसाद–२’ का वितरक गोपाल कायस्थले केसीलाई प्रभावमा पारेर फिल्म रिलिज गराउने तयारी गरेका छन् । प्रहरीले बोर्डमा समेत थापा विरुद्ध पक्राउ आदेश आएको जानकारी गराउँदै उनी बोर्डमा आए जानकारी दिन पत्राचार गरिसकेको छ ।

बैंकिङ कसुरमा फरार रहेका थापाले फेसबुकमा लेख्दै फिल्म रिलिज भएपछि सबैको पैसा तिर्ने दाबी गरेका छन् ।

 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्