Nic Ad Nic Ad
Nic Ad Nic Ad

पार्किङको विषयमा आक्रमक बन्दै विराटनगर महानगर 

मंगलबार, चैत २१, २०७९

विराटनगर– विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्रलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । महानगरपालिकामा आज महानगरप्रमुख नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याइएका सबै सडकलाई पार्किङ निषेधित क्षेत्र (नो पार्किङ) प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्किङलाई व्यवस्थित गर्दै संयुक्त बजार अनुगमनलाई सूक्ष्मरूपमा अघि बढाउने, राजस्व अभिवृद्धि अभियानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्नेलगायतका निर्णय गरेको छ । 
  
प्रदेश राजधानी मात्रै नभएर विराटनगर कोसी प्रदेशको एक मात्र महानगरपालिकालाई व्यवस्थित बनाउने दायित्व सबैको भएकाले महानगरले सुरु गरेको अभियानमा स्थानीय प्रशासनले सहयोग गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले प्रतिबद्धता जनाए ।
 

‘विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा महानगरलाई प्रशासनका तर्फबाट पूर्ण साथ रहन्छ,’ प्रजिअ भट्टराईले भने, ‘कुनै पनि काम गर्दा शतप्रतिशतलाई सन्तुष्ट बनाउन सकिँदैन ।’ आइतबार बसेको महानगरको कार्यपालिका बैठकले यसअघि महानगरले कार्यान्वयनमा ल्याएको नो पार्किङलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो । 

व्यापार सुस्ताएको भन्दै केही दिनयता व्यापारीले आफ्ना सवारी साधन सडकमा राखेर नो पार्किङको अवज्ञा गर्दै आएका छन् । अवज्ञापछि सडकलाई नो पार्किङ बनाउने अभियानबाट पछि नहट्न भन्दै जनस्तरबाट महानगरपालिकामाथि चर्को दबाब आएको प्रमुख कोइरालाले बताए । उनले भने, ‘नो पार्किङको निर्णयबाट पछि नहट्न भन्दै डेलिगेशन पनि आइरहेका छन्, हाम्रो अरु केही उद्देश्य होइन विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने हो । यसप्रति विराटनगरवासी धेरै नै चिन्तित भएको पाएको छु । यहाँहरूले सामाजिक सञ्जालमा पनि हेरिरहनु भएको होला ।’

प्रमुख कोइरालाले वैकल्पिक पार्किङलाई व्यवस्थित बनाउँदै लगिने, सवारी साधनको सुरक्षाका लागि वैकल्पिक पार्किङमा सिसी क्यामरा र बत्तीसमेत तत्कालै जडान गरिने उल्लेख गरे । उपप्रमुख शिल्पा निराला कार्कीले महानगरलाई व्यवस्थित बनाउने यसअघिका निर्णयबाट पछि हट्न नसकिने बताइन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पछिल्लो समय विराटनगर व्यवस्थित हुँदै गइरहेको भन्दै विराटनगरको व्यापार प्रवर्द्धनमा महानगर गम्भीर रहेको सुनाए । 

बैठकमा यसअघि ट्राफिक प्रहरी र नगर प्रहरीले गर्दै आएको ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले सहयोग गर्ने मोरङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । कोसी प्रदेशका ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतोले ट्राफिक प्रहरीलाई स्रोतसाधनयुक्त बनाउनुपर्नेमा जोड दिए । विराटनगरको ट्राफिक व्यवस्थापनबाट आफू सन्तुष्ट भएको बताउँदै उनले भने, ‘विराटनगर प्रदेश राजधानी पनि हो । यहाँ भीआइपीको गतिविधि भइरहने स्थान पनि हो । हामीले अन्य स्थानमा जतिसुकै राम्रो ट्राफिक व्यवस्थापन गरे पनि प्रदेश राजधानीमा राम्रो गरेनौँ भने त्यसको सन्देश देशभरि जान्छ ।’ 

बैठकमा आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा डिबी क्षेत्री, वडा प्रहरी कार्यालय (क)का प्रमुख विजय श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठ, गुणस्तर तथा नापतौल कार्यालय मोरङका प्रमुख मनोज पोखरेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजाल, महानगरको आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेल, राजस्व महाशाखा प्रमुख सरोज गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, सफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहाल, महानगरका प्रहरी प्रमुख राजन पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु लोहनीलगायतले ट्राफिक व्यवस्थापन, बजार अनुगमन, सामाजिक सुरक्षा ऐन, बाल श्रम ऐन, घरबहाल कर, सम्पत्ति कर, व्यवसाय दर्ता, नवीकरण गरे–नगरेको लगायतका विषयमा सूक्ष्म रुपमा अनुगमन गर्नुपर्नेमा जोड दिएका थिए ।

केही समयदेखि अघिदेखि महानगरले पार्किङको व्यवस्थापन गर्न थालेपछि व्यापारीले त्यसको अवज्ञा गरेर सडकमै आफ्ना घरमा रहेका गाडीहरू सडकमा राखेर महानगरको व्यवस्थापनलाई अवरोध सिर्जना गर्न थालेपछि महानगरले गम्भीर भई त्यस विषयमा छलफल चलाएर निर्णय गरेको हो ।
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ०७:३०
प्रतिक्रिया दिनुहोस्