गल्छी–रसुवागढी सडक ७ वर्षदेखि अलपत्र, निर्माण सकिन अझै ३ वर्ष लाग्ने
काठमाडौँ– निर्माण थालनी गरेको करिब ७ वर्ष बितिसक्दा पनि गल्छी–त्रिशुली–मैलुङ–स्यापु्रबेँसी–रसुवागढी सडक निर्माणको काम अलपत्र परेको छ । विसं २०७३ सालदेखि निर्माण सुरु भएको उक्त सडक खण्ड निर्माणको काम अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।
कुल ८२ किलोमिटर लामो उक्त सडक निर्माण २ वर्षभित्र सम्पन्न गर्ने सुरुवाती लक्ष्य थियो । तर, विभिन्न कारणले सडक खण्ड विस्तार र निर्माणमा ढिलाई हुँदा आयोजना अहिलेसम्म पूरा हुन सकेको छैन ।
उक्त सडक आयोजनाको ३ खण्डमा काम भइरहेको छ । पहिलो खण्डअन्तर्गत गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटरमध्ये ३५ किलोमिटर कालोपत्रे भइसकेको आयोजना प्रमुख ध्रुवकुमार श्रेष्ठले सिएन नेपाललाई जानकारी दिए ।
पहिलो खण्डमा अब ११ किमी सडक कालोपत्रेकोे मात्र काम बाँकी रहेको उनले बताए । विभिन्न ठाउँमा बिजुलीको पोल सार्नुपर्ने र जग्गाको मुआब्जा विवाद र मुद्धाका कारण बाँकी खण्डको काम अघि बढाउन नसकिएको उनले बताए ।
दोस्रो खण्डअन्र्तगत मैलुङदेखि स्याप्रुबेँसीसम्म १९ किलोमिटर कालोपत्रेको काम अहिलेसम्म सुरु हुन सकेको छैन । ठेकेदार सम्पर्कविहीन हुँदा सो खण्डको काम अघि बढ्न नसकेको श्रेष्ठको भनाइ छ ।
‘मैलुङदेखि स्याप्रुबेँसी खण्डमा कालोपत्रेको काम सुरु हुन सकेको छैन् । झण्डै एक वर्षदेखि निर्माण व्यवसायी सम्पर्कविहीन भयो,’ उनले भने, ‘अहिले निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर साइटमा मोभिलाइज गरिसकेका छौं ।’
सम्पर्कमा आएर निर्माण कम्पनीले एक महिनाअघिदेखि काम सुरु गरेको उनले बताए । ‘पूर्वतयारी काम र योजना बनाउने काम कम्पनीले गरिरहेको छ,’ उनले भने, ‘अहिले ठेकेदार साइटमा गइसकेको छ ।’
तेस्रो खण्ड पर्ने स्याप्रुबेँसीदेखि रसुवागढीसम्मको १७ किमीको सडक निर्माण चीन सरकारले अनुदानमा निर्माण गर्ने गरी सम्झौता गरेको थियो । नेपालमा कोरोना भाइरस भित्रिनुभन्दा अघि उक्त सडक खण्ड चीन सरकारले अनुदान बनाउने गरी सम्झौता भए पनि सडक निर्माणको काम अहिलेसम्म अघि बढ्न सकेको छैन ।
सम्झौता भए पनि कोरोनाका कारण प्राविधिक र कामदार अहिलेसम्म नआउँदा उक्त सडकखण्डको काम अहिलेसम्म अधुरै छ । यही चैत १९ गते आइतबारदेखि रसुवागढी नाका खुल्ला गरिएसँगै चिनिँया प्राविधिक तथा कामदार अब आउने वातावरण बनेकाले सो सडक खण्डको काम पनि छिट्टै अघि बढ्ने श्रेष्ठको दाबी छ । रसुवागढी नाका खुला भएसँगै चिनिँया टोली ‘साइट’ आउने खबरसमेत प्राप्त भएको उनले बताए ।
तीनवटै खण्डमा सडक निर्माणको समग्र निर्माण ५४ प्रतिशत मात्र छ । स्याप्रुबेँसीदेखि रसुवागढी सडक खण्डमा बिजुलीको पोल, जग्गा अधिग्रहणलगायत नेपाल सरकारले गर्नुपर्ने काम बाँकी छ । ती काम गरेपछि मात्र चिनिँया कम्पनीले काम अघि बढाउने अपेक्षा छ ।
मैलुङदेखि स्याप्रुबेँसी सडक खण्ड विसं २०७६ सालमै नेपाली सेनाले ट्रयाक खोलेर सरकारलाई हस्तान्तरण गरे पनि सडक विस्तार र कालोपत्रेको काम अधुरै छ ।
दुई लेनमा निर्माण गर्ने गरी अघि बढाइएको उक्त सडक आयोजना निर्माणको पछिल्लो कार्यतालिका विसं २०८० भित्र सम्पन्न हुनुपर्छ । तर, मुआब्जा विवाद, मुद्दा–मामिला र निर्माण कम्पनी सम्पर्कविहीन लगायतका कारणले सो अवधिभित्र सम्पन्न हुने देखिँदैन ।
चीन सरकारले अनुदानमा बनाउने सडक खण्डको काम त सुरु भएकै छैन । पहिलो खण्डको सडक निर्माण गर्न अझै १८ महिना लाग्छ । ‘विभिन्न कारणले आयोजनाको काम विसं २०८० भित्र सम्पन्न हुन सक्दैन,’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘सम्पूर्ण काम सकिन अझै ३ वर्ष त कम्तीमा लाग्छ ।’
कुल १५ अर्ब ५० करोडको लागत अनुमान गरिएको सो आयोजनाको हालसम्म ८ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । साढे ५ अर्ब निर्माणमा खर्च भएको र ३ अर्ब क्षतिपूर्ति, मुआब्जा लगायतमा खर्च भइसकेको श्रेष्ठले बताए ।
चीन सरकारले अनुदानमा बनाइदिनेबाहेक पहिलो र दोस्रो सडक खण्ड निर्माणका लागि उक्त लागत लाग्ने अनुमान गरिएको छ ।
पहिलो खण्डको काम कोभेक रसुवागढी जेभीले काम गरिरहेको छ भने दोस्रो खण्डको काम भारत कन्ट्रक्सन सिद्धिसाई कम्पनीले काम गरिरहेको छ । उक्त सडक आयोजना निर्माणमा अधिकांश कामदार तथा मजदुर नेपाली नै छन ।