Nic Ad Nic Ad
Nic Ad Nic Ad

सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ : सभामुख घिमिरे

मंगलबार, चैत २१, २०७९

काठमाडौँ– सभामुख देवराज घिमिरेले सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँमा आजदेखि सुरु भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले  राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भए पनि सामुदायिक विद्यालयको शिक्षामा आधारभूत परिवर्तन हुन नसकेको बताए ।

‘नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक सुनिश्चित गरेको छ,’ उनले भने, ‘आधारभूत शिक्षा निःशुल्क र सर्वसुलभ भए पनि कार्यान्वयन भएको छैन ।’ उनले शिक्षाले देशको भविष्य निर्धारण गर्नेसमेत बताए ।

सभामुख घिमिरेले संघीय शिक्षा ऐन आउन बाँकी रहे पनि भएका कानून पनि प्रभावकारी कार्यान्वयन नभएको उल्लेख गरे । ‘भएका कानुन कार्यान्वयनमा किन बाधा पुगेको छ ? ठूलो लगानी सदुपयोग किन भएको छैन, लगानीको प्रतिफल किन पाएका छैनौँ भनेर तपाईँहरूले छलफल गर्नुपर्छ,’ उनको भनाइ थियो ।

आर्थिक, सामाजिक र साँस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिँदै सभामुख घिमिरेले सार्वजनिक विद्यालयको गुणस्तर कम हुँदा सर्वसाधारणले खर्च कटाएर भए पनि निजी विद्यालयमा छोराछोरी भर्ना गर्नुपर्ने अवस्था आएको बताए ।

‘हामी सुधार गर्दछौँ, हाम्रो विद्यालय’ नाराका साथ सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा देशभरका ७५३ वटै स्थानीय तहबाट विद्यालय व्यवस्थापन समितिको प्रतिनिधित्व रहेको महासंघका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्