कृषिको बजारीकरण, आधुनिकीकरण र औद्योगिकीकरणमा ध्यान केन्द्रीत छ : मन्त्री भुसाल
काठमाडौँ– कृषि तथा पशुपन्क्षी विकासमन्त्री वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै मन्त्री भुसालले जनताको जीवनसँग प्रत्यक्ष जोडिएको मन्त्रालयको नेतृत्व आफूले गरेको भन्दै अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रमा देखिएका समस्यमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले मल, बीउको अभाव, सिँचाइ, कृषि उत्पादनको बजारीकरण, कृषिको आधुनिकीकरण र औद्योगिकीकरणमा सम्पूर्ण ध्यान केन्द्रीत रहेको धारण राखे । मल आउन ढिला हुने प्रक्रियालाई छिटो बनाउन सबैको पहल हुनुपर्ने भन्दै मन्त्री भुसालले आवश्यक मलको ७५ प्रतिशत बढीको टेण्डर भइसकेको जानकारी दिए ।
उनले आगामी वर्षको नीति कार्यक्रम र बजेट तर्जुमाको चरणमा रहेकाले कृषि क्षेत्रको कार्यक्रमलाई प्रभावकारी बनाउन सांसदहरुसँग सुझाव मागिएको बताए ।
बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको सार्वजनिक सेवा प्रसारण विधेयक २०७७ र विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ पारित गरेको छ ।
राष्ट्रिय सभाको अर्को बैठक चैत २७ गते बोलाइएको छ ।