चीन र रुसका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
बेइजिङ– चीनका प्रधानमन्त्री ली छ्याङले मङ्गलबार रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग टेलिफोन वार्ता गरेका छन् । सो अवसरमा लीले दुई देशका राष्ट्राध्यक्षको रणनीतिक निर्देशनमा नयाँ युगको लागि चीन र रुसबीचको बृहत् रणनीतिक साझेदारीको समन्वय उच्च स्तरमा विकास भएको बताएका छन् ।
चीन–रुस सम्बन्ध असंलग्नता, गैर टकराव र कुनै पनि तेस्रो पक्षलाई लक्षित नगर्ने, पारस्परिक सम्मान, आपसी विश्वास र पारस्परिक लाभका सिद्धान्तहरू पालना गर्दै दुई देशको आफ्नै विकास र पुनरुत्थान मात्र नभई अन्तरराष्ट्रिय निष्पक्षता र समर्थनलाई पनि समर्थन गर्ने उहाँले बताए ।
यसैगरी प्रधानमन्त्री लीले चिनियाँ राष्ट्रपति सी चिनफिङको हालैको रुस भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त रूपमा द्विपक्षीय सम्बन्धको विकासको नयाँ खाका तयार गरेको कुरामा जोड दिए ।
चीन रुससँग मिलेर काम गर्न इच्छुक रहेको बताउँदै उनले दुई देशका सरकारी विभागहरूले दुई राष्ट्र प्रमुखले गरेको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै नयाँ विकास हासिल गर्न चीन र रुसबीचको व्यावहारिक सहयोगलाई अगाडि बढाउनुपर्ने बतार्एका छन् ।
आफ्नो तर्फबाट मिसुस्टिनले रुस–चीन सम्बन्ध अन्तरराष्ट्रिय कानून र बहुलवादको सिद्धान्तमा आधारित रहेको र विश्व शान्ति र स्थायित्व सुनिश्चित गर्न महत्त्वपूर्ण कारक रहेको भन्दै वर्तमानमा द्विपक्षीय सम्बन्ध इतिहासकै उच्च तहमा रहेको बताए । राष्ट्रपति सीको रुसको राजकीय भ्रमण पूर्णतया सफल रहेको र रुस–चीन सम्बन्धमा नयाँ अध्यायको सुरुवात भएको उनको टिप्पणी छ ।
रुसले चीनसँगको समन्वयको व्यापक रणनीतिक साझेदारीको कदर गर्ने र चीनसँग असल छिमेकी मित्रतालाई सुदृढ गर्नका निम्ति विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई प्रगाढ बनाउन र दुई देशको साझा विकासमा जोड दिन इच्छुक रहेको उनले बताए ।