अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प पक्राउ
काठमाडौँ– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् ।
न्ययोर्कस्थित म्यानहटन अदालतमा आत्मसमर्पण गरेपछि उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।
अहिले उनलाई प्रहरी हिरासतमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
३४ वर्षीय अश्लील चलचित्रकी नायिका (पोर्न स्टार) स्टर्मी डेनियलले यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले आफूलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाएकी छिन् । याे सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघिकाे घटना भएकाे उनकाे भनाइ छ ।
यद्यपि, ट्रम्पले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।
अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको बिबिसीले जनाएको छ ।
आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाका पहिलो राष्ट्रपति हुन् ।
आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति ट्रम्प फ्लोरिडाबाट मंगलबार न्युयोर्क पुगेका थिए । त्यहाँस्थित आफ्नो व्यावसायिक भवनमा उनले वकिलहरूसँग परामर्श गरेका थिए ।
वर्षौको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले गत साता उनलाई फौजदारी अभियोग लगाएको थियो । ट्रम्पले केही साताअघि आफू पक्राउ पर्नसक्ने बताएका थिए । अन्ततः पक्राउबाट जोगिन उनी अदालतसमक्ष आत्मसमर्पण गर्ने निष्कर्षमा पुगेका हुन् ।
म्यानहाटनस्थित सरकारी वकिलको कार्यालयले पूर्वराष्ट्रपतिको आत्मसमर्पणको सहजीकरणका निम्ति उनका वकिलसँग सम्पर्क एवम् समन्वय गरेका थिए ।
अमेरिकाको इतिहासमा पूर्वराष्ट्रपतिलाई फौजदारी अभियोग लागेको यो पहिलो घटना हो । ७६ वर्षीय ट्रम्पलाई अब अदालतमा उपस्थित गराइने छ ।