साविक विजेता गुजरातको शतप्रतिशत नतिजा, दिल्लीको लगातार दोस्रो हार
काठमाडौँ– जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा साविक विजेता गुजरात टाइटन्सले शतप्रतिशत नतिजा निकालेको छ ।
गएराति दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै गुजरातले लगातार दोस्रो खेलमा शतप्रतिशत जित हात पारेको हो ।
अरुण जेट्ली क्रिकेट स्टेडियममा घरेलु टोली दिल्लीले दिएको १६३ रनको लक्ष्य गुजरातले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
गुजरातका लागि साई शुदर्शनले अविजित रहँदै ६२ रनको अर्धशतकीय पारी खेले ।
डेबिड मिलरले अविजित ३१ रन बनाउँदा विजय शंकर २९ रनमा आउट भए ।
ओपनरद्वय ऋद्धिमान शाह र शुभमन गिलले समान १४-१४ रन बनाए । यस्तै, कप्तान हार्दिक पाण्ड्याले ५ रन जोडे ।
दिल्लीका लागि एनरिक नोर्कियाले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको हो ।
दिल्लीका लागि कप्तान डेविड वार्नरले सर्वाधिक ३७ रन बनाए ।
गुजरातका लागि मोहम्मद सामी र राशिद खानले समान ३÷३ तथा अल्जारी जोशेफले २ विकेट लिए ।
जारी लिगमा लगातार दोस्रो जित हात पारेको गुजरात ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । लगातार दोस्रो हार व्यहोरेको दिल्ली अंकविहीन रूपमा आठौँ स्थानमा रहेको छ ।
पहिलो खेलमा गुजरातले चेन्नाई सुपर किंग्सलाई हराएको थियो भने दिल्ली लखनाऊ सुपर जायन्टसँग पराजित भएको थियो ।