Nic Ad Nic Ad
Nic Ad Nic Ad

कास्कीका पशु चौपायामा लागू गरिएको खोप अभियान प्रभावकारी

बुधबार, चैत २२, २०७९

गण्डकी– कास्की जिल्लामा पशु चौपायामा लागू गरिएको खोप कार्यक्रम प्रभावकारी बनेको छ । पशुमा लाग्ने रोग सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६-७७ देखि पूर्णखोप लगाउने व्यवस्था गरेकामा हालसम्म विभिन्न क्षेत्रमा गरी दुई लाख १८ हजार सात सय खोप लगाइएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख डा शम्भुराज पाण्डेका अनुसार गत वर्ष मात्र गाई, भैँसी र बङ्गुरमा मात्र ९४ हजार चार सय एक खोप लगाइएको छ । गाई–भैँसीमा नै हुने भ्यागुुते र चरचरेविरुद्ध २६ हजार तीन सय ७१ खोप लगाइएको छ भने बङ्गुरका स्वाइनफिबरका लागि करिब १५ हजार खोप लगाइएको छ ।

त्यस्तै भेडाबाख्रामा हुने पिपिआर रोग नियन्त्रणका लागि झन्डै ७७ हजार र रेबिजविरुद्ध ६१ हजारभन्दा बढी खोप लगाइएको डा पाण्डेले जानकारी दिए । खोप लगाउन गाउँ–गाउँमा ‘किसान सचेत कार्यक्रम’ सञ्चालनमा छ । ‘हेम्जा गाई फार्म’का सञ्चालक घनश्याम तिमिल्सिनाले प्रभावकारी रहेकाले खोरेतविरुद्धको खोप दुईपटक र अन्य  एकपटक लगाउने नीति सरकारले लिनुपर्ने बताए ।

कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले पशुधनको क्षति न्यूनीकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुग्ने उल्लेख गर्दै यस वर्षको पूर्णखोप कार्यक्रम पोखरा महानगरपालिकाबाट सुरु भइसकेको र अन्य गाउँपालिकामा किसानलाई अभिमुखीकरण गरिएको जानकारी दिए । भेडाबाख्राका लागि पिपिआर खोप चलिरहेको छ । सबै किसिमको खोप गाउँपालिकामा पुर्याउने उनको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०९:३९
प्रतिक्रिया दिनुहोस्