Nic Ad Nic Ad
Nic Ad Nic Ad

वैशाख १२ गतेदेखि भारतको केदारनाथ मन्दिर खुल्ने

बुधबार, चैत २२, २०७९

काठमाडौं–आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ । उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रेलवे र पर्यटन निगमलाई अनलाइन बुकिङको अनुमति दिइएको छ ।  

उत्तराखण्ड पर्यटन विकास परिषद्ले गत महिनाको प्रारम्भमा नै आगामी चारधाम तीर्थयात्राका लागि ६ लाख ३४ हजार भक्तजन दर्ता भइसकेका जनाएको छ । सरकारी अधिकारीहरूले हिँडेर वा हेलिकप्टरबाट पनि केदारनाथ मन्दिरको यात्रा गर्न सकिने बताएका छन् । 

परिषद्का अनुसार केदाननाथ यात्राका लागि दुई लाख ४१ हजार र बद्रीनाथका निम्ति दुई लाख एक हजार, यमनोत्री जान ९५ हजार एक सय सात जना र गङ्गोत्रीको यात्राका निम्ति ९६ हजार चार सय ४९ जनाले आवश्यक प्रक्रिया पूरा गरेका छन् । 

उत्तरखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले तीर्थयात्रीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै विभिन्न स्थानमा स्वास्थ्यकर्मीको टोली खटाइने बताउनुभएको छ । यात्रा मार्गका ठाउँठाउँमा भक्तहरूको स्वास्थ्य परीक्षण गरिने उहाँले बताउनुभएको छ । 

यसैबीच, रुद्रप्रयाग जिल्ला प्रशासनले चारधाम यात्रामा आउने श्रद्धालुको सुविधाका निम्ति विभिन्न शिविर स्थापनालगायत आवश्यक तयारी गरिरहेको छ । उत्तराखण्डको चारधाम यात्रा भारतको सबैभन्दा लोकप्रिय हिन्दू तीर्थस्थल मानिन्छ । 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्