भोलिदेखि लुम्बिनीमा म्याराथन र हाफ म्याराथन प्रतियोगिता
बुटवल–अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा लुम्बिनीमा एकै दिन दुई वटा दौड प्रतियोगिता आयोजना गरिएको छ ।
नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा तिलौराकोट–लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन र मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा बिहीबार पिस हाफ म्याराथन हुन लागेको हो ।
पिस म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहीबार विहान ७ बजे सुरु भई लुम्बिनीको शान्ति दीपमा समापन हुने नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । खेलकुदको माध्यमबाट लुम्बिनीको पर्यटन र विश्वमा शान्ति प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा भारत र नेपालका तीन विभागीय क्लबका समेत गरी ५० बढी धावक सहभागी हुने श्रेष्ठले बताए ।
वर्षको प्रतियोगिता समापनसँगै २०७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरी ५ वर्षभित्र सबैभन्दा ठूलो म्याराथनका रुपमा विकास गरिने उनले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार र तृतीय हुनेलाई २५ हजार रुपैयाँ प्रदान गरिने लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए । उत्कृष्ट १० औं स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको उनले बताए । पुरस्कारका लागि मात्रै ४ लाख २४ हजार रुपैयाँ र प्रतियोगिता सम्पन्न गर्न ४० लाख खर्च अनुमान गरिएको उनले बताए ।
उता मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको हाफ म्याराथनमा देशभरबाट २ हजार ५ सय खेलाडी सहभागी हुने अध्यक्ष ध्रुव आचार्यले बताए । प्रतियोगितामा महिला र पुरुष दुवैको छुट्टाछुट्टै प्रतियोगिता हुने छ ।
प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार रुपैयां नगद पुरस्कार दिइने छ । महिलातर्फ पहिलो हुनेलाई १ लाख ५१ हजार, दोस्रोलाई ७५ हजार, र तेश्रो हुनेलाई ५० हजार रुपैया दिइने छ । दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।