Nic Ad Nic Ad
Nic Ad Nic Ad

मोफसलमा बढ्दैछ चलचित्र गतिविधि,  ‘बहाव’को प्रिमियर पोखरामा 

बिहीबार, चैत २३, २०७९

काठमाडौँ– चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यकामा केन्द्रित छन् । चलचित्र प्रदर्शन अगाडि भने पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा चलचित्रकर्मी पुग्ने गरेका छन् । प्रिमियर, घोषणालगायत कार्यक्रम काठमाडौँ केन्द्रीत भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बहाव’को प्रिमियर भने कास्कीको पोखरामा हुने भएको छ । 

मोफसलका विभिन्न सहरमा व्यावसायिकरूपमा प्रिमियर नभएका होइनन् तर निर्माण पक्षले नै प्रचारप्रसारका लागि गर्ने यस्ता गतिविधि निकै कम छन् । चलचित्र निर्माता श्रीधर पौडेलले कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल तथा लेखक÷निर्देशक प्रमोद कँडेलको सहभागितामा पोखरामा प्रिमियर हुने जानकारी दिए । 

‘मोफसलमा समेत प्रिमियर गर्नुपर्छ भन्ने सोच बनायौँँ । उपत्यका बाहिर फाट्टफुट्ट हुने यस्ता कार्यक्रमलाई विस्तारै बढाउँदै लैजानु पर्छ,’ निर्माता पौडेलले भने । चलचित्र ‘बहाव’ को प्रिमियर काठमाडौँमा भने बुधबार सम्पन्न भइसकेको छ । पहिलो दर्शक बनेका कलाकर्मी, राजनीतिज्ञ र सञ्चारकर्मीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्देशक कँडेलले बताए । 

‘फरकरूपमा तयार गरेको प्रयासबाट सकारात्मक प्रतिक्रिया पाउँदा उत्साहित छु । यसमा हामीले अहिलेको पुस्ताको मनोविज्ञान, समाज र परिवारले राख्ने अपेक्षालाई प्रस्तुत गरेका छौँ,’ उनले भने । निर्माता पौडेलकै अग्रसरतामा केही वर्ष अगाडी ‘लुकामारी’ को प्रिमियर पोखरामा गरिएको थियो । 

गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’को काठमाडौँसँगै चितवन र इटहरीमा प्रिमियर गरिएको थियो । निर्माता रवीन्द्रसिंह बानियाँले मोफसलको मागलाई ध्यानमा राख्दै प्रिमियर गरिएको बताए ।

‘हामीले मोफसलमा व्यापार भएन भन्छौँ । अझैँ कोसी र मधेस प्रदेशको धेरै सहरमा हाम्रो बजार राम्रो छैन । त्यहाँ बजार विस्तार गर्नका लागि पनि प्रिमियर गरेका थियौँ,’ निर्माता बानियाँले भने, ‘प्रिमियर, पत्रकार सम्मेलनलगायत गतिविधिले स्थानीयरूपमा प्रचारप्रसार हुन्छ । मोफसलबाट पनि लगानी उठाउन मद्दत पुग्छ ।’ 

आफ्नो आगामी चलचित्र ‘महाजात्रा’लाई काठमाडौँ मात्र नभई मोफसल केन्द्रित गतिविधिमार्फत प्रचारप्रसार गर्ने योजनामा उनी छन् । 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्