वैयक्तिक विवरण अद्यावधिक गर्न निर्देशन
काठमाडौं –राष्ट्रिय किताबखाना (निजामती) ले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीलाई एक महिनाभित्र आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न भनेको छ ।
कर्मचारीको सरुवा, बढुवा, पुरस्कार र पदस्थापन विज्ञताका आधारमा मात्र गर्ने सरकारको तयारीपछि किताबखानाले सूचना जारी गरी वैयक्तिक विवरण अद्यावधिक गर्न भनेको हो ।
किताबखानाका सूचना अधिकारी प्रकाशजंग शाहीका अनुसार कर्मचारीको वैयक्तिक विवरण नभएका कारण पूर्णरूपमा विवरण अद्यावधिक गर्न कठिनाइ भएकाले संघ, प्रदेश तथा स्थानीय तहमा समायोजन भई कार्यरत सबै सेवा, समूह र श्रेणीका कर्मचारीले एक महिनाभित्र अद्यावधिक गर्नुपर्ने छ ।
किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजातसहित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने जनाइएको छ ।
किताबखानाले सबै सेवा, समूह र श्रेणीका कर्मचारीको अभिलेख राख्ने एवं अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था भएबमोजिम कर्मचारीको वैयक्तिक विवरण निरन्तर अद्यावधिक गर्दै आएको छ ।
किताबखानाले यसअघि सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गर्न सूचना जारी गरेको थियो ।