नेभिगेशन
समाज विविध

५ पटक म्याद थप्दा पनि हुलाकी सडक अधुरै

महेन्द्रनगर–३० महिनामा सक्नुपर्ने हुलाकी सडक निर्माण ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो । तर अझै २६ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।

हुलाकी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर दीपक सुनारले निर्माणमा ढिलासुस्ती भएको बताए । ‘कोरोना महामारी, निकुञ्ज क्षेत्रमा स्वीकृति लिनुपर्नेलगायत कारणले काममा ढिलाइ भयो’, उनले भने ‘५ पटक काम गर्न म्याद थप गर्दा पनि पूरा भएको छैन् ।’ हुलाकी सडकको ६२ किलोमिटर सडक तीन प्याकेजमा ठेक्का दिएर काम थालिएको थियो । डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेजको २० किलोमिटरमा ९० प्रतिशत काम सम्पन्न भए पनि अन्य दुई प्याकेजमा काम अधुरै छ ।

पहिलो प्याकेज ३६ करोड ४७ लाखमा शर्मा–राजेन्द्र जेभीले निर्माणको जिम्मा पाएको थियो ।  त्यसैगरी बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजको लागत ४१ करोड ४१ लाख छ । उक्त प्याकेजमा हालसम्म साढे नौ किलोमिटर सडक मात्र कालोपत्र भएको हुलाकी सडक योजना कार्यालयले जनाएको छ । सोही प्याकेजको चुँइ क्षेत्रमा भारतीय पक्षको अवरोधका कारण काममा अवरोध भएको छ । भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबी गर्दै कालोपत्र गर्न असहमति जनाउँदै आएको छ ।

दोस्रो प्याकेज निर्माणको जिम्मा पाएको बाबा हंस–सिद्धीसाई जेभीले पाँच पटक म्याद थप भइसक्दा मुस्किलले ५० प्रतिशत काम सकेको छ । त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटर सडकमा ६ वर्षको अवधिमा साढे आठ किलोमिटर सडक मात्रै कालोपत्र भएको इञ्जिनीयर सुनारले जानकारी दिए ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता